Logo

पाल्पाको रामपुरमा रहेको अनौठो गुफा जसलाई हेर्नेको लाग्छ हजारौ मानिसको भीड !

स्थानीय नागरिकको माग गरेपछि पाल्पाको रामपुरमा रहेको ‘अनौठो गुफा’ को प्रचारप्रसारका लागि खुला गरिएको छ । रामपुर नगरपालिका–४ रामघाट भुलादी खोला भुद्रुङघाटमा गत वर्ष मात्रै फेला परेको सो गुफा हेर्ने मानिसको भीड लागेको थियो । साँघुरो स्थानमा भीड बढेपछि दुर्घटना हुन सक्ने भन्दै प्रवेशद्वारमा ढुङ्गा र सिमेन्टले बन्द गरिएको थियो । पाल्पाको रामघाट क्षेत्रमा रहेको सप्तगुफालाई धार्मिक हिसाबले समेत हेरिएको छ । स्थानीयले बाहिरी भागमा सानो दुलो देखेपछि खोज गर्ने क्रममा पत्ता लागेको स्थानीयवासी दिनेश कुमालले बताएक छन्।

२०७५ सालको वैशाखमा स्थानीयले फेला पारेको गुफाभित्र, मन्दिर, शङ्ख, शिवलिङ्ग, हात्तीका चित्र, भगवान्का विभिन्न आकृति, पानीका धारा, पानीपोखरीलगायतका आकृति देख्न सकिन्छ । तीन तहका कोठा रहेको गुफा नजिकै वशिष्ठ गुफा, कौशिक गुफा, दुम्सी गुफा, सातपत्रे गुफा र चमेरे गुफा, गुप्त गुफासमेत रहेको छ । वशिष्ठ गुफाको बारेमा पुराणमा समेत उल्लेख भएकाले पनि धार्मिक हिसाबले महत्वपूर्ण मानिने स्थानीय मीनराज रेग्मीले बताएक छन् ।

विभिन्न भगवानका आकृति, उनीहरुको बासस्थान रहेको अनुमान लगाउन सकिने दृश्यले जो कसैलाई आकर्षित गर्छ । करिब १५० मिटर लम्बाइ रहेको गुफाभित्र करिब एक हजार मानिस अट्ने आँकलन गर्न सकिन्छ । त्रेता युगमा रामले भ्रमण गरेको तथ्यसँग जोडिएको रामपुरमा भेटिएको गुफा पनि यसकै आकृतिका रुपमा समेत लिन सकिन्छ । भगवान् रामसँग जोडिएको रामघाट, रामचेबन, रानीवन, सीताकुण्ड, रानीवासलगायतका ठाउँको नामकरण गरिएको छ ।

भगवान्ले स्नान गरेका, पानी वाण हानेर निकालेका, खाना पकाएका चुलो, मन्दिरलगायतका स्थानले पनि रामपुर क्षेत्र धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो । प्रसस्तै चमेरासमेत भेट्न सकिने गुफाको संरक्षण सम्वद्र्धन गरी यसको प्रचारप्रचार गरेमा थुप्रै पर्यटक भित्र्यान सकिने आधार छ । गुफाभित्रका आकृति चोरी हुने र गुफाको अस्तित्व हराउने डरले गुफा बन्द गरेर राखिएको सामुदायिक रानीवन तथा बडबान वन उपभोक्ता समितिका सचिव हमिदअलि मिँयाले जानकारी दिएका छन् ।

गत वर्ष गुफा फेला पारेपछि हेर्नेको भीड लागेको र गुफामा पस्ने ठाउँ साँघुरो भएकाले केही दुर्घटना हुने डरले स्थानीय प्रशासनले गुफा बन्द गरेको हो । प्राकृतिक सुन्दरताले भरिएको पाल्पा अनेकन पर्यटकीय गन्तव्यका आधार भएपछि कतिपय अझै संरक्षण सम्वद्र्धनका कारण ओझेलमा छन् । जोखिमका हिसाबले गुफा केही व्यवस्थापन मिलाउने रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाको जोड छ । मानिसले नै तयार पारेको तालपोखरी क्षेत्र प्रचारप्रसारका कारण रामपुर आउने पर्यटक जसरी तालपोखरा पुग्छन् ।

यहाँ भएका गुफा मठमन्दिर, शालिग्रामलगायतको प्रचारप्रचार हुनु पनि उत्तिकै आवश्यक रहेको लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मीको भनाइ छ । उहाँले भगवान् रामचन्द्र तथा पाण्डवले बनवासको क्रममा रामपुर आउँदा वरिष्ठ ऋषिले त्यस ठाउँमा तपस्या गरेको कुरा पुराणमा समेत उल्लेख भएकाले गुफाको महत्व रहेको बताउनुभयो ।

गुफासम्म पुग्नका लागि रामपुर नगरपालिका–४ ले बाटो निर्माणको काम थालेको छ । विज्ञको टोलीले अध्ययन गरेपछि मात्रै गुफामा पस्ने व्यवस्था मिलाइने र धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने नगरपालिकाको योजना छ । सुनापति न्युजबाट

प्रतिक्रिया दिनुहोस्