Logo

जिबनमा एक पटक पुग्नै पर्ने ठाँउ पवित्र तीर्थस्थल खप्तडको बारेमा रोचक जानकारी !

खप्तड पर्यटकिय क्षेत्रमा पर्ने त्रिवेणी मन्दिरले विगतका बर्ष देखि पर्यटन क्षेत्र र धर्मलाई जोड्दै आएको छ । खप्तड पर्यटन क्षेत्रमा जाने पर्यटकहरुले नछुटाई हेनुपर्ने एक धार्मिक पर्यटकीय पवित्र तीर्थस्थल हो । खप्तडको बिचमा अवस्थित यो मन्दिरको दायाँबाँया दुबै तिरबाट नदि बगेका छन् । यसलाई प्राचीनकालदेखि नै धार्मिक मन्दिरका रुपमा पुजिँदै आइएको छ । वरिपरी मैदानै मैदानको बिचमा अवस्थित रहेको त्रिवेणी मन्दिर नेपालमा रहेका तीर्थस्थलहरु मध्ये एक हो । यहाँ बर्षेनी जेष्ठ शुक्ल नवमीका दिन गंगादशहरा मेला लाग्ने गर्दछ र हजारौँ दर्सनार्थि तीर्थालु भक्तजन र पर्यटकहरुको घुईचो लाग्ने गर्दछ ।

खप्तड पर्यटन क्षेत्रको गहनाको रुपमा रहेको त्रिवेणी मन्दिरले पर्यटन तथा धर्मीक क्षेत्र दुवैलाई जोडेको छ । खप्तड धार्मिक हिसाबले पवित्र मानिन्छ । पुराणमा उल्लेख भए अनुसार सत्य युगमा खेचरादी पर्वमा सिद्धहरुले बास बस्ने तपोवन भूमिको रुपमा यसलाई वर्णन गरिएकाले यो भूमि पवित्र मानिएको हो ।

त्यस क्षेत्रमा त्रिवेणी, सहस्र लिङ्ग, खापरदह, खडुली, दुदुली लगायतका स्थानमा दर्शन गरी स्नान गरेमा मनले चिताएको फल पाइन्छ भन्ने धामिर्क विश्वास समेत रहेकाले मेलामा स्थानियहरुको बढी सहभागिता हुने गरेको छ । त्यहाँ नागढुंगा, खापर दह, खप्तड आश्रम, सहस्र लिंग, त्रिवेणीधाम छन् । त्रिवेणी घाटमा नुहाए पाप पखालिन्छ ।

त्रिवेणीमा दुई नदी गंगा र जमुनाको संगम देखिन्छ । सरस्वती नदी गुप्त बगेकी छिन् भन्ने विश्वास गरिन्छ । त्यस्तै युधिष्ठिर स्वर्ग जाँदा खप्तड हुँदै गएका थिए भनिन्छ । यो मन्दिरमा धार्मिक आस्था राख्ने श्रदालु भक्तजनहरु र अवलोकन गर्ने उद्धेश्य बोकी आएका दुवै थरी पर्यटक घुम्न आउने गर्दछने ।

पर्यटन र धार्मिक गन्तव्यका रुपमा रहेको मन्दिरमा वर्षैनी लाग्ने मेलामा स्वदेशी तथा विदेशी पर्यटक र दर्शनार्थीहरु आउने गर्दछन् । गंगादशहराका दिन लाग्ने मेलामा अछाम, डोटी, बझाङ्ग र बाजुराका मानिसहरु आई रात भर देउडा तथा न्याउले खेल लगाई रातभर रमाईलो गर्ने गर्दछन् ।

‘प्राकृतिक दृष्टिकोणले अती मनोरम दृश्यहरुको मज्जा लिन सकिने र वरिपरी हजारौँ रङ्गीबिरङ्गी फूलहरुको विचमा रहेको यो मन्दिरमा दर्शन गरेपछि आफूले चिताएको पुग्ने धार्मिक विश्वासले पनि मानिसहरू यहाँ आउने गरेको’ खप्तड पर्यटन बोर्डका कार्यकारी निर्देश यमराज कुवर बताउँछन् । यहाँ हेर्न आउने पर्यटक तथा श्रदालु भक्तजनहरुको लागि बास बस्नका लागि एक भवनको निर्माण गरिएको छ ।

खप्तड पर्यटन क्षेत्र यहाँको गहनाको रुपमा रहेको त्रिवेणी मन्दिर र खप्तड पर्यटन क्षेत्रको विकास र संरक्षणका लागि सम्बन्धित निकायले ध्यान दिई सँगसँगै विकास गरेर लैजानु पर्ने बझाङ्गबाट खप्तड पर्यटन बोर्डमा प्रतिनिधित्व गरिरहेका बोर्ड सदस्य डबल बहादुर बोगटीको भनाई छ । खप्तडको शोभा बढाउनमा त्रिवेणी मन्दिरको पनि एक महत्वपूर्ण भुमिका खेलेको छ ।

खप्तड बाबाले तपस्या गरेकोले पनि प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थलका रुपमा पवित्र मानिन्छ । बाबाले खप्तडमा ५० वर्ष बिताउनुभएको थियो । खप्तड पुगेर हेर्नै पर्ने ठाउँ खप्तड बाबा आश्रम पनि हो । त्यहाँ बाबाको मूर्तिका साथै बाबाले प्रयोग गरेका केही सामान छन्। उहाँले योग र ध्यान गर्नुभयो र किताबहरु लेख्नुभयो ।

उहाँले धर्म्विज्ञान, विचार विज्ञान, स्वास्थ्य विज्ञान, म र मेरो कर्तव्य, नारीधर्म र पुरुषधर्म, आत्म ज्ञान, योग विज्ञान, वेदान्त विज्ञान, आरोग्य विज्ञानलगायत पुस्तक लेख्नुभएको छ । यस क्षेत्र भित्र खप्तड राष्ट्रिय निकुञ्ज, नागढुंगा, खापर दह, सहस्र लिंग, त्रिवेणीधाम, पाटन, खप्तड दह (ताल), खप्तड बाबाको आश्रम तथा विभिन्न किसिमका वनस्पतीहरु र चराचुरुंगीहरु पाईन्छन् ।

खप्तड राष्ट्रिय निकुञ्ज प्रदेश नम्बर सात का ४ पहाडी जिल्लाहरू बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाहरुको संगम स्थलमा अवस्थित छ । खप्तडको क्षेत्रफल २२५ बर्ग कि.मी. छ । यो समुद्र सतहबाट ३ हजार ५ सय मिटर सम्मको उचाईमा रहेको खप्तड राष्ट्रिय निकुञ्ज भित्र ५ सय ६७ थरिका वनस्पतीहरु र नेपालमा पाइने ८ सय ५० किसिमका चराचुरुंगी मध्ये २ सय ६० भन्दा पनि बढी चराचुरुंगीहरु पाईन्छन् ।

खस्रे भ्यागुता र बझांगे पाहा गरी दुई प्रजातिका रैथाने उभयचर, बाघ बुट्टे निगांलो पाइने यो नेपालको एक मात्र राष्ट्रिय निकुञ्ज हो । विश्वकै दुर्लभ जातिको हरियो छेपारो यहाँ पाइन्छ । बाह्रै महिना पानीको सतह एकै नासको हुने विशेषता रहेको १ सय ५० मिटर लम्बाई ५० मिटर चौडाई रहेको खप्तड दह छ भने ५२ वटा ताल(दह) रहेका छन् ।

धार्मिक आस्था तथा पर्यटकीय क्षेत्र आकर्षणलाई जोगाई राख्न र अझ बढी पर्यटक भित्र्याउन यसको संरक्षणमा स्थानीयवासीका साथै राज्यका सम्पूर्ण सम्बन्धित निकायहरुले अहम भुमिका खेल्न तिर लाग्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्