Logo

एसईई र कक्षा १२ को परीक्षा सँगै हुनसक्छ: परीक्षा बोर्ड

राष्ट्रिय परीक्षा बोर्डले एसईई र आगामी बैशाखमा हुने कक्षा १२ को परीक्षा सँगै गर्न सकिने जनाएको छ । कोभिड–१९ का कारण चैत ६ गतेबाट हुने एसईई रोकिएको छ । त्यसैगरी बोर्डको निर्धारित तालिकाअनुसार आगामी बैशाख ८ गतेबाट कक्षा १२ को परीक्षा हुनेछ। कक्षा ११ को परीक्षा तालिका बैशाख २१ गतेबाट हुने रहेको छ।

‘एसईई परीक्षा बिहान र कक्षा १२ को परीक्षा दिउँसो सञ्‍चालन गर्न सकिनेछ,’ बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले कान्तिपुरसित भने, ‘यसो गर्दा एउटै परीक्षा केन्द्रमा एकसाथ दुवै परीक्षा सम्पन्न हुनेछ। लकडाउन खुलेपछि तत्कालै परीक्षा प्रक्रिया अघि बढ्छ।’

यो वर्ष ४ लाख ८२ हजार ७ सय ७ जनाले एसईई दिने तयारीमा छन्। देशभरिमा १ हजार ९ सय ९७ परीक्षा केन्द्र विस्तार गरिएका छन्। प्रश्नपत्र सबै केन्द्र नजिकको प्रहरी चौकीमा सुरक्षित गरी राखिएका छन्।

प्रतिक्रिया दिनुहोस्