Logo

भारतद्वारा नेपालसहित १३ देशलाई औषधि निर्यातको अनुमति

भारतले नेपालमा हुँदै आएको औषधि निर्यात जारी राख्ने भएको छ । भारतले शुक्रबार नेपालसहित १३ देशलाई हाइड्रोक्सीक्लोरोक्विन (एचसीक्यू) र सिटामोल औषधि निर्यातको अनुमति दिने निर्णय गरेको छ ।

भारतीय विदेश मन्त्रालयका एक अधिकारी दम्मु रविले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा यो जानकारी दिएका हुन् । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार भारतले नेपाल, भुटान, बंगलादेश, अफगानिस्तान, माल्दिभ्स, अमेरिका, स्पेन, जर्मनी, ब्राजिल, बहराइनलगायतका देशलाई यी औषधि निर्यातको अनुमति दिइएको छ ।

कोरोना भाइरसको महामारीसँगै विश्वभर यी दुई औषधिको माग उच्च छ । भारत हाइड्रोक्सीक्लोरोक्विन औषधि धेरै उत्पादन तथा निर्यात गर्ने देश हो । मलेरियाका लागि उपयुक्त हुने भनिने हाइड्रोक्सीक्लोरोक्विन औषधि उपलब्ध गराइदिन यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेका थिए ।नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीबीच शुक्रबारै औषधिलगायतका अत्यावश्यक सामान आयात–निर्यातका विषयमा टेलिफोन वार्ता भएको थियो ।

वार्ताको क्रममा उनीहरुबीच कोरोना भाइरस नियन्त्रणको लागि अहिले भइरहेका प्रयास र यसका लागि आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको थियो । उनीहरुबीच अहिले दुवै मुलुकमा लकडाउन रहेकाले एकअर्काको मुलुकमा रहेका नागरिकहरुलाई आवश्यक कोष र स्वास्थ्य स्याहार प्रदान गर्ने सहमति भएको थियो ।

नेपाल सरकारको तर्फबाट ओलीले भारतलाई आवश्यक मेडिकल सामग्रीहरु निरन्तर पठाएकोमा भारत सरकारलाई धन्यवाद दिएका थिए । उनीहरुले एकअर्को मुलुकले गरिरहेको आवश्यक सामग्रीको आपूर्तिमा सन्तोष व्यक्त गर्दै यो क्रम आगामी दिनमा पनि जारी राख्नुपर्नेमा जोड दिएका थिए ।

उनीहरुले सार्क मुलुकको बीचमा भएको भिडियो कन्फ्रेन्सको माध्यमबाट कोरोना भाइरसको नियन्त्रणका लागि समयमा नै सही कदम चाल्नका लागि सहयोग पुगेको भन्दै खुसी व्यक्त गरेका छन् ।ओलीले भारतमा कोभिड–१९ को कारण मृत्यु हुने मानिसप्रति दुःख व्यक्त गरे । साथै मोदीले पनि नेपाली जनताले लकडाउनको पालना गरेकोमा आभार व्यक्त गरेका थिए ।

वार्ताको क्रममा उनीहरुको बीचमा दुई मुलुकबीच रहेको बहुपक्षीय मैत्री सम्बन्धको विषयमा पनि छलफल भएको थियो । साथै नेपालमा द्विदेशीय व्यापारलाई पनि यथावत रुपमा निरन्तरता दिने भएको छ । नेपालले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि भारतको प्रयासलाई साथ दिएसँगै भारतले पनि अत्यावश्यक सामग्रीमा रोक नलगाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्