कोरोना संक्रमितको उपचार गरेर फर्किंदा नर्सको परिवारमा रुवाबासी !


झापाको भद्रपुर नगरपालिका– ५ कि प्रमिला ढकाल (परी) पेसाले नर्स हुन् । विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र एक साता कोरोना संक्रमितको उपचार र १४ दिनको क्वारेन्टाइन बसाइपछि हालै उनी घर फर्किएकी छन् । स्कूल हेल्थ नर्सिङमा कार्यरत उनको दरबन्दी विर्तामोडको दुर्गा माविमा थियो । तर लकडाउनका कारण घरमा २९ महिनाको छोरा र ६ वर्षकी छोरीसँग दिन बित्दै थियो । संक्रमितको उपचारमा खटिन आग्रह आएपछि उनी तयार भइन् ।

घर पुग्दा पनि रुवाबासी

१० वैशाखमा उनलाई लिन प्रदेश १ को सामाजिक विकास मन्त्रालयले गाडी पठाएको थियो । अढाई वर्षका छोरा र ६ वर्षकी छोरी छोडेर कोरोना संक्रमितको उपचारमा आउनलाग्दा घरमा रुवाबासी नै भयो । सासुआमा, श्रीमान, छोरा छोरी सबै रोए । प्रमिलाका आखा पनि थामिएनन् । फर्कन पाउदिन कि भन्ने चिन्ताले उनी आधाबाटोसम्म रोइन् । उनका श्रीमान व्यापार गर्छन् । सासुआमा अवकाशप्राप्त शिक्षक हुन् । विराटनगर आएको २३ दिनपछि उनी शुक्रबार उनी घर फर्किइन् । घर फर्कदा पनि रुवाबासी चल्यो । यो पटकको रुवाबासी भने खुसीको थियो ।

बुहारीलाई स्वागत गर्न सासु पार्वती ओझा आफैं आइन् । गाडीबाट ओर्लिने बितिकै बुहारीलाई अंगालो हालिन् । अबिर र फूलमालाले स्वागत गरिन् । स्वागतमा सगुन (दही) खुवाइन् । स्वागत गरिरहँदा सासुबुहारी नै भक्कानिए, अंगालो हालेर एक छिन सँगै रोए । २३ दिनपछि आमा देख्दा अढाई वर्षको छोराले पनि अंगालो हाल्यो । दुधे बालकको व्यावहारका कारण स्वागतका लागि भेला भएकाहरुको आशु थामिएनन् । ‘डर धेरै थियो, म त फर्कन पाउँछुकी पाउँदिन भनेर जाँदा रुवाबासी चल्यो’ प्रमिलाले भनिन्, ‘उपचारपछि फर्कदा युद्ध जितेर आएजस्तै भयो ।’ लकडाउनका कारण घरमै बसिरहेको बेला सामाजिक विकास मन्त्रालयले संक्रमितको उपचारमा आउन आग्रह गर्दा उनी एकै बचनमा राजी भएकी थिइन् ।

‘बिरामीको सेवा गर्नु हाम्रो कर्तव्य हो । यो बेला राज्यलाई हाम्रो आवश्यकता छ’ उनले भनिन् ‘छोराको माया लाग्यो तर आफ्नो कर्तव्य ठूलो सम्झिएँ ।’

उनले दुधे छोरालाई छाडेर घरबाहिर यति लामो समय बसेको पहिलो पटक हो । एक्कासी आमासँग छुटिएर बस्नुपर्दा छोरा निराशिएको थियो । अस्पतालमा काम सकिनेबित्तिकै उनी परिवारमा सम्पर्क गर्थिन । तर भिडियो कलमा छोराले प्रमिलासँग बोल्दै मानेन ।

संक्रमितलाई देख्दा साहस

उनले १२ वैशाखबाट कोभिड १९ उपचार केन्द्रमा काम सुरु गरिन् । कोरोना संक्रमणका कारण डराएकाहरुलाई ढाडस दिन डाक्टरहरुले प्रमिलालाई संक्रमितको वार्डमा पठाए । स्टाफ रुमबाट वार्डसम्म आउँदा उनका हातखुट्टा काँपे, मुटुको चाल बढ्यो । वार्डमा दमकका ६२ वर्षका बृद्ध एक्लै थिए । भर्खरै आएका उनी त्रसित थिए । डरले उनका हातखुट्टा कापिरहेका थिए । उनले भनिन् ‘बुबाको डर देखेर मलाई साहस आयो, मन दह्रो बनाएर उहाँलाई सम्झाएँ, त्यसपछि बुबाको हात काप्न कम भए ।’ वृद्धले सन्तोषको सास फेर्दा उनले आफ्नो बालक छोरालाई बिर्सिइन् । आफू ठूलो काम गर्न आएको महसुस गरिन् । सन्तोषको स्वास फेरेर वार्डबाट फर्किइन् । त्यसपछि उनले आफूलाई कहिल्यै डराएको महसुस गरिनन् ।

लगातार सात दिन संक्रमितको सेवा गरिन् । १४ दिन क्वारेन्टाइन बसेर कोरोना जाँच गर्दा रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार घर फर्किइन् । ‘सुरुमा डर धेरै लाग्यो’, उनी भन्छिन् ‘घर छोड्दै गर्दा यो नै अन्तिम भेट हो कि भन्ने डर थियो । यहाँ आएपछि काम गर्दा आनन्द मिल्यो ।’

देशलाई हाम्रो आवश्यकता छ

कोरोना संक्रमितको उपचारमा अग्रपंक्तिमा खटिएकी प्रमिला फेरि बोलाए काममा जान तयार रहेको बताउँछिन् । ‘यतिबेला देशलाई हाम्रो जरुरत छ । हामीले काम गर्नुपर्छ’ उनी भन्छिन् ‘यस्तो बेला सेवा गर्न जो कोहीले चाहेर पनि पाउँदैनन्, हामीलाई काम गर्ने अवसर छ ।’