असार १० देखि जारी स्थायी कमिटीको बैठक रोकेर भदौको पहिलो साता केन्द्रीय कमिटीको बैठक बोलाउन केपी ओली, प्रचण्ड र माधव नेपाल बिहीबार बालुवाटारमा सहमत भएका थिए । शुक्रबार ११ बजे स्थायी कमिटीको बैठक बस्ने र त्यहीँबाट केन्द्रीय कमिटीको मिति तोक्ने तीन नेतावीच सहमति भएको थियो ।तीन नेताको ‘जेन्टलमेन एगि्रमेन्ट’पछि शुक्रबार बेलुकै प्रचण्डनिवास खुमलटार र प्रधानमन्त्रीनिवास बालुवाटारमा दुई गुटका बेग्लाबेग्लै बैठकहरु बसे ।
आफ्नो गुटको भेलामा प्रचण्ड-माधव समूहका नेताहरुले केन्द्रीय कमिटीको बैठक बोलाउनु उपयुक्त हुने निश्कर्ष निकाले । तर, बालुवाटारमा बसेको ओली गुटको बैठकले भने अहिलेको अवस्थामा केन्द्रीय कमिटीको बैठकमा जाँदा आत्मघाती हुन सक्ने निश्कर्ष निकाल्यो ।स्थायी कमिटीको निर्णयलाई त केन्द्रले अनुमोदन गर्नुपर्छ भनेर केही समय टार्न सकिएला, तर केन्द्रीय कमिटीले जे निर्णय गर्छ, प्रधानमन्त्रीले त्यसलाई मान्नैपर्ने हुन्छ भन्दै ओली पक्षका नेताहरुले ओलीलाई सतर्क गराए ।
बिहीबार राति बालुवाटारमा प्रधानमन्त्री ओलीले पोखरेलसहित महासचिव बिष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङसहित प्रदीप ज्ञवाली, विष्णु रिमाल लगायतका नेताहरुसँग छलफल गरेका थिए ।छलफलमा अर्को पक्षको सम्भावित कदम र त्यसको सामना गर्ने रणनीतिका ओलीले परामर्श गरेका थिए । केन्द्रीय कमिटीको बैठक बोलाउन प्रधानमन्त्रीले दिउँसो गरेको सहमति उचित नभएको उनी निकटका नेताहरुले सुझाएपछि ओली अघिल्लो दिनको सहमतिबाट एकाएक ‘ब्याक’ भए ।
शुक्रबार बिहान ११ बजे बस्ने भनिएको स्थायी कमिटीको बैठक दिउँसो ३ बजेलाई सारिएको सूचना आयो । तर, ३ बजे पनि बैठक बसेन र आइतबार दिउँसो ३ बजे बस्ने गरी स्थायी कमिटीको बैठक एकै दिन दुईचोटि सारियो । यसवीचमा शनिबार सचिवालय बैठक बस्ने सूूचना आयो ।
आखिर भदौमा केन्द्रीय समितिको बैठक राख्ने विहीबारको त्रिपक्षीय सहमतिबाट प्रधानमन्त्री ओली किन ‘ब्याक’ भए ? यसको खास कारण बाहिर आइसकेको छैन ।तर, यो परिघटनाका पछाडि दुईवटा कारणहरु हुन सक्ने नेकपाका नेताहरुको विश्लेषण छ । नाम उल्लेख नगर्ने शर्तमा एकजना स्थायी कमिटी सदस्यको विश्लेषण यस्तो छ-थम- प्रधानमन्त्री ओली स्थायी कमिटीलाई छल्नका लागि केन्द्रीय कमिटीको बैठकमा जान सहमत हुनुभएको थियो । तर, बेलुका बालुवाटारमा भेला भएका उहाँका निकटस्थहरुले त्यसबाट प्रधानमन्त्रीकै विपक्षमा निर्णय आउन सक्ने त्रास देखाइदिए ।
दोस्रो- केन्द्रीय कमिटीको सामना गर्न नसक्ने अवस्थामा पुगेपछि प्रधानमन्त्री ओली एक कदमपछि हटेको अर्थमा पनि यसलाई लिन सकिन्छ । र, सचिवालयमै छलफल गरेर प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद छाड्नुपर्ने उहाँले भित्रैबाट महसुस गर्नुभएको पनि हुनसक्छ ।’
आखिर प्रधानमन्त्री ओलीले किन केन्द्रीय कमिटी बैठकको साटो सचिवालय र स्थायी कमिटीको बैठक नै रोजे त ? केन्द्रीय कमिटीलाई टार्नका लागि मात्र हो या कुनै निकास दिनका लागि ? यसको संकेत सम्भवतः शनिबारको सचिवालय बैठक पछि नै आउला ।
तर प्रधानमन्त्री ओली केन्द्रीय कमिटीको सामना गर्ने आँट गर्न नसकेर एक कदम पछि हटेको तथ्यचाहिँ शुक्रबार दिनभरिको परिघटनाले नै पुष्टि गरिसकेको प्रचण्ड-माधव पक्षका नेताहरुको तर्क छ । तथापि वीच धारका नेताहरुचाहिँ केन्द्रीय कमिटीको बैठकमा विना एजेण्डा जानु उचित नहुने भएकाले सचिवालय र स्थायी कमिटीले केन्द्रीय कमिटीको बैठकका लिखित एजेण्डा तय गर्न आवश्यक रहेको बताउँछन् ।
कुर्सी भाँचिदिने ओलीको चेतावनी !
नेकपाका सीमित नेताहरुलाई मात्र थाहा भएको एउटा प्रसंग छ, जसले असार १० बाट शुरु भएको स्थायी कमिटी बैठक ‘न मरीजाने, न गरीखाने’ अवस्थामा पुर्याइदिएको थियो ।
प्रसंग हो, स्थायी कमिटीमा अल्पमतमा परेका प्रधानमन्त्री केपी ओलीले बहुमत पक्षका नेताहरुलाई दिएको कडा चेतावनी । आफूलाई प्रधानमन्त्री वा अध्यक्षबाट गलहत्याएर निकाले कुर्सी भाँच्दिन्छु, हात छाडे (कुनै एक्सन लिए) उठ्नै नसक्ने गरी जवाफ फर्काउँछु भनेर प्रधानमन्त्री ओलीले प्रचण्ड पक्षका नेताहरुलाई केही दिनअघि चेतावनी दिएका थिए ।
ओलीले पछिल्ला भेटमा प्रचण्ड लगायतका नेताहरुलाई भनेका थिए, म यो पदमा टाँसिएर बसिरहन्न । तर, गलहत्याएर निकाल्न खोज्नुहुन्छ भने तपाईहरुलाई दिन्न, यो कुर्सी भाँचिदिन्छु । म आफू हात छाड्दिनँ, तर तपाईहरुले हात छाड्नुभयो भने उठ्नै नसक्ने गरी जवाफ फर्काउँछु, त्यसको सामना गर्न तयार हुनुस् ।
आफू अल्पमतमा पर्दा पनि सचिवालय र स्थायी कमिटीलाई आफूविरुद्ध निर्णय गर्न नदिएका ओलीले अहिलेसम्म प्रचण्ड र माधव नेपाललाई भन्दै आएका थिए, ‘अध्यक्ष हुने भए महाधिवेशन पर्खिनुस, प्रधानमन्त्री हुने भए अर्को चुनावसम्म पर्खिनुस् । प्रचण्ड-माधव समूहको डर शुरुमा ओली हटाउने निर्णय गर्दा उनले संसद विघटन गर्ने, संकटकाल लगाउने, पार्टी फुटाउने जस्ता कदम चाल्छन् कि भन्ने थियो ।
केपी ओलीले भनेका कुर्सी भाँच्ने र हात फर्काउने दुई पदावलिभित्र नेकपाभित्रको संकट सुर्केनी लाग्दै आएको छ ।बहुमतले निर्णय गरेर प्रधानमन्त्रीलाई हट्न भनेमा उनले नमान्ने घोषणा गरेका थिए । कुर्सी भाँच्छु भनेर उनले आफूलाई हटाए अरु कोही बस्न नसक्ने गरी देशलाई संवैधानिक संकटमा धकेल्छु भनेको अर्थमा प्रचण्ड माधव नेपाल पक्षका नेताहरुको बुझाइ थियो ।
यसको अर्थ ओली आफूलाई प्रचण्ड-नेपाल पक्षले निर्णय गरेर हटाउन् भन्ने चाहन्थे । त्यसैले बारम्बार उनले आफूले दुवै पद नछाड््ने भन्दै जे गर्ने हो गर्नू भनेर चुनौति दिइरहे । यद्यपि बहुमत पक्षका नेताहरु भने केपी ओलीको चेतावनीसामु झुकेको नभई पार्टी विभाजन हुन नदिन आफूहरु हदैसम्म लचिलो बनेको तर्क गर्छन् ।
प्रचण्ड-माधवको गठबन्धन भत्काउने प्रयास
यसबीचमा केपी ओलीले बहुमत पक्षभित्रै खेलेर गठबन्धन भत्काउन प्रयास पनि गरे । यसबाट उनी आफ्नो पदको सुरक्षाका लागि सबै विकल्पको सामना गर्ने तयारीमा छन् भन्ने बुझ्न सकिन्छ । तर, अन्ततः उनले केन्द्रीय कमिटीको बैठकको सामना गर्ने आँट गरेनन् र पछि हटे । प्रचण्ड र माधव नेपाल पक्षले केपी ओलीलाई दुईमध्ये एक पदबाट राजीनामा गर्न दबाब दिइरहेका बेला ओली पक्षले भने असार १० यता लगातार अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछाड्ने बटमलाइन बनाइरह्यो ।
यसवीचमा प्रधानमन्त्री ओली स्थायी कमिटीका सदस्यहरुसँग सम्पर्कमा रहे । उनले गत वैशाखमै स्थायी कमिटी बैठक माग गरेर लिखित निवेदन दिने २० जनामध्येका कतिपय नेताहरुसँग भित्रभित्रै निकटता बढाए । घनश्याम भुसाल, योगेश भट्टराई लगायतका नेताहरुले पनि यसवीचमा बालुवाटारमा बाक्लै आउजाउ गरे ।
यसवीचमा ओली पक्षले स्थायी कमिटीमा अल्पमत र बहुमतको आधारमा निर्णय गर्ने प्रक्रियामा गए दुवै पक्षमा नलाग्ने सदस्यहरुको संख्या निणर्ायक हुने आशा गरेको देखिन्छ । बैठक माग गर्ने २० मध्ये कम्तिमा ५ जना सदस्यहरुलाई पछिल्लो समय ‘न्युट्रलाइज्ड’ गर्न सफल भइएको ओली पक्षका नेताहरुको दाबी छ । पछिल्लो समय टोपवहादुर रायमाझी, हरिबोल गजुरेल, मणि थापा, देवेन्द्र पौडेल लगायतका स्थायी कमिटी सदस्यहरु केपी ओलीप्रति नरम बनेको ओली निकट नेताहरुको दाबी छ । यसरी ओलीले स्थायी कमिटीमा आफू अल्पमतमा परेपछि अर्को पक्षको बहुमत तोडफोड गर्दै केही नेतालाई ‘न्युट्रलाइज’ गर्न खोजेको आशंका प्रचण्ड-माधव पक्षको छ ।
ओली पक्षले फेरि गृहमन्त्री बादल आफूहरुसँगै रहेको दाबी गर्न थालेको छ । ओली पक्षका नेताहरु त शनिबारको सचिवालय बैठकसम्म पुग्दा नेकपाको समीकरण फेरि अर्कैतिर पल्टिने दाबी गर्छन् ।उनीहरुको संकेत बादल र बामदेवमाथि छ । यद्यपि बादलले झम्सीखेल बैठकमा भनेका थिए, केपी ओलीको नेतृत्वमा मुलुक प्रतिक्रान्तितर्फ जान्छ, हामी समाजवादतर्फ जानुपर्छ ।
संसदीय दलमा पनि ओलीको कसरत
केपी ओली पक्षले संसदीय दलमा पनि आफ्नो बहुमत कायम गर्ने प्रयास यसवीचमा जारी नै राखेको छ । बालुवाटारमा विभिन्न सांसदहरुलाई बोलाएर छलफल चलिरहेको छ । दुवै पक्षले यसअघि नै सांसदहरुको हस्ताक्षर गराइसकेका छन् । केही सांसदले दुईतिर हस्ताक्षर गरेका छन् भने केहीले दुवैतिर गरेका छैनन् ।
आखिर, स्थायी कमिटीमा करीब दुईतिहाई बहुमत रहेको प्रचण्ड-माधव नेपाल समूह किन केपी ओलीको हठ सामु रक्षात्मक बनिरहेको छ ? स्थायी कमिटीका बहुमत सदस्यहरुले प्रधानमन्त्री ओलीलाई किन हटाउन सकेनन् ? तीन सातासम्म बैठक किन सरेको सर्यै गर्यो ? साउन २ गते स्थायी कमिटीको बैठक बसेर भदौको पहिलो साता केन्द्रीय कमिटीको बैठक राख्ने सहमति आज एकाएक किन उल्टियो ? फेरि किन दुई अध्यक्षकै वीचमा छलफल गर्ने र सचिवालय बैठक बस्ने भनियो ?
प्रतिक्रिया