Logo

चलचित्र “अगस्त्य च्याप्टर १”को सार्वजनिक टिजरले चौतर्फी तारिफ

काठमाडौं – फिल्म ‘अगस्त्य च्याप्टर १’को सार्वजनिक टिजरले चौतर्फी तारिफ पाएको छ । फिल्मको फस्टलुक सार्वजनिक भएदेखि नै चासोको विषय बनेको यो फिल्मले टिजर रिलिज भएदेखि थप हाइप पाएको छ । टिजर सार्वजनिक भएसँगै मिलेको सकारात्मक प्रतिक्रियाबाट निर्माण पक्ष थप उत्साहित बनेको छ । फिल्ममा सौगात र नाजिरको एक्सनलुक्स र प्रमोद अग्रहरिको भिलेन लुक्सले पनि फिल्मको महत्व बढाइदिएको छ । यो फिल्मकै लागि नाजिरले २० किलो तौल बढाउनु र सौगातले तौल घटाउनुले पनि यी दुई कलाकार आफ्नो चरित्रका लागि कति मेहनत गरेका छन् भन्ने प्रष्ट्याउँछ ।

अभिनेता सौगातको चरित्रमा देखिएको विविधताले दर्शकको मन झनै जितेको छ । टिजर हेर्दा उनलाई रोमान्टिक, एक्सन र मानसिक सन्तुलन गुमेको चरित्र गरी तीनवटा अवस्थामा देखाइएको छ । टिजरको अन्तिममा मेशिनगन लिएर प्रस्तुत भएका नाजिर हुसेनको प्रभावशाली चरित्रले होस् या प्रमोद अग्रहरी र निश्चल बस्नेतको झलकले सबैको ध्यान तान्न सफल भएको छ । टिजरमा प्रयोग गरिएको व्याकग्राउन्ड स्कोर उत्तिकै दमदार छ ।

टिजरमा समावेश ‘मानव सभ्यताको शुरूवात जङ्गलबाट भयो, जङ््गल जङ्गल मासेर गाउँ बन्यो, गाउँबाट शहर सबै कुरा बद्लियो यहाँ, तर बद्लिएन मान्छे भित्रको जनवार’भन्ने संवादलाई दर्शकले औधी मन पराएका छन् ।

टिजर सार्वजनिक भएको ३ दिनमै युट्युबमा करिब तीन लाखजनाले हेरेका छन् । करिब १३ सय जनाले ‘उत्कृष्ट’, ‘आगो’, ‘बबाल’ र ‘बहुमुखी अभिनेता सौगात मल्ल’ भन्दै प्रतिक्रिया दिएका छन् । यस हिसाबले फिल्म आम दर्शकका लागि फागुनको १८ गते प्रतीक्षित बन्न सफल भएको देखिन्छ । फिल्मका लेखक तथा निर्देशक सौरभ चौधरी र उनको टिमले टिजर बनाउन धेरै मिहिनेत गरेका थिए । जस अनुसार फिल्म क्षेत्रका मेकरहरुले सकारात्मक प्रतिक्रिया र दर्शकहरुको टिजर प्रतिको उत्सुकताले आफुलाई थप जिम्मेवार बनाएको उनीहरुको तर्क छ । साथै, फिल्मको सार्वजनिक हुन बाँकी रहेको ट्रेलरमा थप माया र साथ पाउनेमा टिम आशावादी देखिएको छ । फागुन ३ गते सार्वजनिक गरिने ट्रेलरले दर्शकलाई फिल्मप्रति अझै उत्सुकता पैदा गराउन निर्देशक चौधरी बताउँछन् ।

विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको फिल्ममा सञ्जय लामाको छायांकन, निर्देशक चौधरी स्वयंको लेखन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत छ । डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुती रहेको यो फिल्म फागुनको १८ गते नेपालसँगै विश्व भरबाट रिलिज हुनेछ ।

फिल्म अमेरिका र बेलायतमा ८ सयदेखि एक हजार शो, क्यानडामा १ सय ५० शो, युरोपका अन्य देशसँगै जापान, कोरिया, हङकङ र थाइल्यान्डमा १ सय ५० शो, अष्ट्रेलिया र न्युजिल्याण्डमा पाँच सय शो र मध्यपूर्वका देशहरुमा ७ सय ५० शोमा रिलिज हुने छ ।

प्रतिक्रिया दिनुहोस्