Logo

नेपाल अध्ययनको परिक्षामा त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र अङ्ग्रेजीमा

काठमाडौंं– त्रिभुवन विद्यालयले नेपाल अध्ययन विषयको परिक्षामा अंग्रेजीमा प्रश्नपत्र सोधेको छ । हाल त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातक चौँथो वर्षको परिक्षा सञ्चालन भइरहेको छ । परिक्षामा मानविकि तथा समाजिक शास्त्र संकायको चौँथो वर्षमा अनिवार्य रुपमा पढ्नुपर्ने नेपाल अध्ययन विषयको प्रश्नपत्र अंग्रेजीमा सोधिएको हो ।

तीन वर्षेको मानविकी तथा समाजशास्त्र संकायलाई चार वर्षे बनाएपछि पहिलोपटक त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले स्नातक चौँथो वर्षको परिक्षा दिइरहेका छन् । जसमा मंगलबार नेपाल अध्ययन (एनपीएस ४०४) विषयको परिक्षा भएको थियो । परिक्षामा प्रश्नपत्र अङ्ग्रेजीमा सोधिएको थियो । तर, विषय नेपालसँग सम्बन्धित भएपनि अङ्ग्रेजीमा प्रश्नपत्र आएको भन्दै विद्यार्थीहरुले आपत्ति जनाएका छन् ।

उक्त विषयको पाठु्यक्रम पनि नेपाली भाषामा नै छ । क्याम्पसमा पठनपाठन पनि नेपाली भाषामा नै भएको थियो । सोहीअनुसार विद्यार्थीहरुले नेपाली भाषामा नै परिक्षा दिने तयारी गरेका थिए । तर, परिक्षा दिन थाल्दा प्रश्नपत्र अङ्ग्रेजीमा आएपछि विद्यार्थीहरुले आपत्ती जनाएका हुन् ।

उता त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र सङ्काय भने नेपाली भाषा नभइ समग्र नेपालको अध्ययन भएकाले अङ्ग्रेजीमा प्रश्नपत्र स्वभाविक नै रहेको बताउँछ । विद्यार्थीहरुले यसमा आपत्ती जनाउनु सान्दर्भिन नदेखिएको विश्वविद्यालयको भनाइ छ ।

उसो त त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुमा प्रशनपत्रको समस्या पुरानो होइन । अङ्ग्रेजीबाहेकका विषयमा अङ्ग्रेजी र नेपाली भाषामा नै प्रश्नपत्र सोध्नुपर्ने माग विद्यार्थीहरुले गर्दै आएका छन् । अङ्ग्रेजीमा मात्र प्रश्नपत्र आउँदा नेपाली भाषामा पढ्नेलाई प्रश्नपत्र बुझ्न गाहे भएको र परिक्षा समेत विग्रिएको गुनासो विद्यार्थीहरुको छ । प्रश्नपत्रमा नेपाली भाषा समेत समावेश गर्न विद्यार्थीहरुले माग गर्दै आएका छन् । यस विषयलाई ध्यानमा राख्ने प्रतिवद्धता विश्वविद्यालयले पटकपटक जनाएपनि हालसम्म कार्यान्वयनमा भने ल्याउन सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्