Logo

गर्मी बढ्न थालेपछि एकाएक ढल्न थाले भुवनेश्वरी माविका छात्रा

बैतडी– सिगास गाउँपालिका वडा नं ५ को भुवनेश्वरी माविका छात्राहरुमा छोप्ने समस्या देखिएको छ । विद्यालयका प्रधानाध्यापन वीरेन्द्र सिं धामीका अनुसार छात्राहरुमा बेहोस हुने, काप्ने, चिच्याउने, कराउने जस्ता समस्या देखिन थालेको हो ।

हरेक गर्मी महिनामा विद्यालयका छात्राहरुमा सो समस्या देखिने गरेको उनले बताए । विगत १०÷१२ वर्ष पहिलेदेखि नै विद्यालयको छात्राहरुमा यस्ता समस्या देखिन थालेको हो । ११ वर्षभन्दा माथीका किशोरीहरुमा यस्ता समस्या हुने गरेको छ । यस वर्ष वैशाख २६ गतेदेखि दैनिकजसो विद्यार्थीहरुमा छोप्ने समस्या देखिएको उनले सुनाए।

उनले छात्राहरुमा मास हिस्टेरियाको समस्या देखिएको बताए । छात्रा अनुसार फरक फरक खालका लक्षण देखिने गरेको उनले बताएका छन् । सामान्यत छोप्दा छात्राहरु काम्ने, चिच्याउने, कराउने, दगुर्ने, भुईमा लछारपछार गर्ने हाम फाल्ने, हात खुट्टा टाउको बजार्ने गर्छन् । यसक्रममा विद्यार्थीहरु घाइतेसमेत हुनेगर्छन् । हात, खुट्टा, घुँडा लगायत शरिरका विभिन्न अंगमा निलडाम, घाउ पनि पर्छ ।

एउटा विद्यार्थीमा छोप्ने समस्या देखिएपछि अन्य विद्यार्थीहरुमा पनि क्रमशः छोप्ने व्यथा सर्दै जाने गरेको छ । कहिलेकाँही विद्यालयमा १२/१३ जना विद्यार्थीहरुलाई एकैपटक छोप्ने समस्या पनि हुनेगर्छ । हाल विद्यालयमा सात जना विद्यार्थी सो समस्याबाट धेरै प्रभावित रहेको उनले बताए । ‘त्यसमा तीन जना विद्यार्थीहरुलाई छोप्दा त चोटपटक नै लाग्ने समेत हुन्छ । उनीलाई चोटपटकबाट जोगाउन दौडिएको, उफ्रिएको बेलामा अरु विद्यार्थी र शिक्षकले बल प्रयोग गर्नुपर्ने अवस्था समेत आउँछ,’ उनले भने ।

प्रअ धामीका अनुसार विद्यार्थीहरुलाई छोप्दा पठनपाठनमा समस्यासमेत आउने गरेको छ । विद्यार्थीहरुलाई सम्हाल्नै नसकेमा बन्द कोठामा आधा घण्टाजति राखेपछि विस्तारै शान्त हुँदै जाने गरेको उनले बताए ।

विद्यालयले धामी, बैना कमाएर छोप्ने व्यथा लागेका छात्रालाई शान्त बनाउने प्रयास गरेको उनले बताए । छात्राहरुको समस्या हटाउन अन्य निकायको सहयोग भने हालसम्म माग नगरेको उनले स्विकारे । अब विद्यार्थीहरुलाई मनोपरामर्श सेवाहरु उपलब्ध गराउन गाउँपालिकासँग माग गर्ने प्रधानाध्यापक धामीले बताएका छन् ।

उनले भने, ‘चाँडै विद्यालय व्यवस्थापन समितिको बैठक बोलाएर विद्यार्थीको उपचारका लागि के गर्ने भनेर छलफल गछौँ ।’ विद्यालय व्यवस्थापन समितिको निणर्यअनुसार उपचारका लागि पहल गर्न गाउँपालिकासँग माग गर्ने उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्