Logo

कापी नलिइ विद्यालय पुगेपछि शिक्षकले बालकको अनुहारमा लेखिदिए, ‘मेरो कापी छैन’

काठमाडौं– यतिबेला सामाजिक सञ्जालमा एउटा अबोध बालकको तस्बीरले सबैको ध्यान खिचिरहेको छ । तस्बीरमा विद्यालय पोशाकमा एक सात वर्षीय बालक छन् जसको गाला र निधारमा ठूला अक्षरले केहि लेखिएको छ ।

दृश्यमा देखिएका बालक हुन् उदयपुरको कटारी नगरपालिका वडा नं– २ को कमला आधारभूत विद्यालयका विद्यार्थी । उनको गाला र निधारमा ठूला अक्षरले लेखिएको छ, ‘मेरो कापी छैन ।’ तस्बीरमा देखिएका बालकाको अनुहारमा मेरो कापी छैन मात्र लेखिएको छैन, उनीमा अपराधबोध र लज्जा पनि प्रष्ट देखिएको छ ।

यो घटना गत मंगलबारको हो । कटारीको कमला आविका कक्षा ३ मा अध्ययनरत एक छात्रा विद्यालयमा कापी नलिइकन पुगे । शिक्षकले हरेक दिन कापी लिएर आउन भनेपनि बालकले लिएर गएका थिएनन् । त्यही भएर कटारी नगरपालिकाका करार सेवामा रहेका शिक्षक नातिबाबु भट्टराईले बालकको निधार र गालामा ठूलो अक्षरमा ‘मेरो कापी छैन’ लेखिदिए । र विद्यालयबाट उनलाई घर पठाइदिए ।

घर पठाएको केहि दिनपछि बाललको उक्त फोटो सामाजिक सञ्जालमा भाइरल भयो । भाइरल भएपछि बालकमाथी दुव्र्यवहार भएको भन्दै शिक्षकको व्यवहारप्रति सबैले विरोधसमेत जनाएका छन् ।

शिक्षक भट्टराईले बारम्बार अभिभावकलाई विद्यालयमा कापी र कलमसहित पठाउन भन्दा नमानेपछि अनुहारमा मेरो कापी छैन लेखेको स्विकार गरेका छन् । घटना बाहिर आएपछि उनले पीडित बालकको घरमा पुगेर माफीसमेत मागेका छन्।

घटना सार्वजनिक भएपछि कटारी नगरपालिकाले शिक्षकले गलत गरेको भन्दै कारबाही प्रकृया अघि बढाएको जनाएको छ । नगरपालिकाले शिक्षक भट्टराईलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो । शिक्षक भट्टराईले त्यसको जवाफ दिइसकेको नगरपालिकाले जनाएको छ ।

घटना सार्वजनिक भएपछि ती बालकलाई विभिन्न व्यक्तिहरुको सहयोग समेत मिल्न थालेकाे छ । सामाजिक सञ्जाल प्रयोगकर्ता सुनिता गुरुङले ५ दर्जन कापि ,३० ओटा पेन्सिल ,स्कुल ब्याग ,छाता ,स्कुल ड्रेस ,जुत्ता ,किनि दिएको बताएकी छिन् । आवश्यक परे थप किनिदिने उनले बताएकी छिन् । अन्य व्यक्तिहरुले पनि ती बालकलाई सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्