काठमाडौं– क्यानडाबाट फर्किएको भोलिपल्ट सिनामंगलस्थित होटेलमा मृत भेटिएका दम्पती परिवारलाई खबर नगरि नेपाल आएको पाइएको छ ।
मंसिर ९ गते सिनामंगलस्थित होटल जन्मभूमिको चौथो तलामा रमेश माझी र शर्मिला माझी झुण्डिएको अवस्थामा भेटिएका थिए । माझी दम्पत्तीको मृत्युको बारेमा परिवारलाई जानकारी गराउँदा सुरुमा परिवारले नपत्याएको अनुसन्धानमा संलग्न एक प्रहरीले बताए । क्यानडाबाट नेपाल आएको जानकारी नभएकाले सुरुमा उनीहरुले नपत्याएका हुन् ।
हाल भने त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम पछि आफन्तले शव बुझेका छन् ।
सुनसरी दुहवी नगरपालिकाका माझी दम्पत्तीका चार वर्षका छोरासमेत छन् । उनीहरु दुई वर्षअघि चार वर्षीय छोरा छाडेर क्यानडा गएका थिए । दुई वर्षपछि शनिबार उनीहरु काठमाडौं फर्केका थिए । उनीहरू सिनामंगलस्थित जन्मभूमी होटलको चौथो तलाको १२० नम्बर कोठामा बसेका थिए ।
क्यानडाबाट परिवारलाई खबर नै नगरी आएका दम्पतीले आत्महत्या गर्नुको कारण हालसम्म खुल्न सकेको छैन । प्राविधिक कोणबाट आत्महत्या गर्नुको कारण खोजिरहेको प्रहरीको भनाइ छ । उनीहरुको शवको पोस्टमार्टम रिपोर्ट पनि आएको छैन ।
प्रतिक्रिया