‘होस्टेल ३’को ५१ दिने सेलिब्रेशन



फागुनको २३ गतेबाट रिलिजमा आएको फिल्म ‘होस्टेल ३’को टिमले आज सेलिब्रेशन गरेको छ । फिल्मले शनिबार काठमाडौंको रञ्जना हलमा ५१ दिन मनाएको हो ।

यसको टिमले आज एक कार्यक्रमको आयोजना गर्दै फिल्म निर्माणमा साथ दिने सबैलाई कदर पत्र प्रदान गर्यो । फिल्मले ५१ दिन मनाउँदै गर्दा बक्स अफिसमा भने ४ करोड १० लाख रुपैयाँ ग्रस कलेक्शन गरेको छ ।

सशान कँडेलको निर्देशनमा माधव शर्माको लेखन रहेको यो फिल्मलाई दर्शकहरुले निकै रुचाएका थिए । पहिलो फिल्मबाटै दर्शकहरुले दिएको मायाले आफूहरु निकै नै उत्साहित भएको निर्देशक कँडेलले जानकारी दिए ।

यो फिल्ममा पारस बम ठकुरी ‘कुल ब्वाई’, रिहान गिरी, सिम्रन पन्त, हेना नगरकोटी, आशिष घिमिरे, पदम तामाङ, समा पराजुली, सन्तोष बानियाँ, उमर खान, प्रविण खतिवडा लगायतका कलाकारहरुको अभिनय छ ।

कार्यक्रममा कलाकार केदार घिमिरेको पनि उपस्थिती थियो । उनले, फिल्मको टिमलाई बधाई दिए । उनका छोरा आशिषले यही फिल्मबाट डेब्यू गरेका हुन् ।

फिल्मका मुख्य कलाकार पारस बमले आफूलाई अफर राम्रै आएपनि सोचे अनुसारको कथा आएको खण्डमा काम गर्ने बताए । उनले, आफूलाई काम गर्न हतार नगर्ने समेत बताएका छन् ।