काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाबारे फेरि भ्रामक सूचना सम्प्रेषण भएपछि आपत्ति जनाएको छ । बोर्डको लोगो प्रयोग गरी अनाधिकृत रूपमा विभिन्न सामाजिक सञ्जालमा भ्रामक सूचना सम्प्रेषण भएको भन्दै बोर्डले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बोर्डले बिहीबार विज्ञप्ति जारी गर्दै भ्रमका पछि नलागी वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म तोकिएकै समयमा परीक्षा सञ्चालन हुने जानकारी गराएको छ । परीक्षा सञ्चालनका सम्बन्धमा सम्बन्धित निकायहरूलाई यसपूर्व नै आवश्यक पत्राचार गरिसकिएकोले सम्बन्धित निकायहरूबाट परीक्षा सञ्चालनको पूर्वतयारीका बाँकी सम्पूर्ण कार्यहरू सम्पन्न गरी गराई तोकिएको मितिमा मर्यादित, व्यवस्थित र शान्तिपूर्ण वातावरणमा परीक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन बोर्डले आग्रहसमेत गरेको छ ।
केही दिनअघि देशभरका शिक्षक काठमाडौँ केन्द्रित आन्दोलनमा होमिएकै बेला वैशाख ११ देखि तोकिएको परीक्षा स्थगित भएको सूचना भाइरल बनेको थियो । शिक्षक आन्दोलन जारी रहेपछि बोर्डले वैशाख ११ गतेदेखि हुने भनिएकामा १० दिन पछि सार्दै वैशाख २१ गतेदेखि सञ्चालन हुने जानकारी गराएको थियो । बुधबार मात्रै शिक्षक र सरकारबीच नौ बुँदे सहमति भएसँगै शिक्षकहरुले आन्दोलन स्थगित गरिसकेका छन् । तर पनि कक्षा १२ को परीक्षा सर्ने भन्दै सामाजिक सञ्जालमा आएपछि बोर्डले बिहीबार विज्ञप्ति जारी गर्दै त्यस्ता भ्रामक सूचनाको भर नपर्न अपिल गरेको छ ।
प्रतिक्रिया