अहिलेका भाइरल गीत–संगीतप्रति सुवास रेग्मीको कटाक्ष


काठमाडौं – विन्ध्यावासिनी म्युजिक भिडियो कम्पनीका सञ्चालक सुवास रेग्मीले अहिलेका भाइरल र द्विअर्थी गीत–संगीतप्रति कटाक्ष गरेका छन् ।

नेपालमा धेरै लोकदोहोरी गीति एल्बम निकाल्ने, नयाँ स्रष्टालाई अवसर दिने र रोयल्टी दिने रेग्मीले पछिल्लो समय नेपाली संगीतको विकास र विस्तारप्रति खुसी व्यक्त गर्दै आफ्नो पालामा व्यापार र राजनीति मात्र भएको, तर अहिले नेपाली संगीत पुस्तान्तरण भन्दै तारिफ गरेका छन् ।

आफूले पहिले धेरै माया गरेर स्रष्टालाई मौका दिए पनि घृणा मात्र पाएको उल्लेख गर्दै बिहीबार सामाजिक सञ्जालमार्फत त्यस्तालाई अहिलेको द्विअर्थी र अश्लील बुझाउने गीतसंगीतले विस्थापित गरेको भन्दै भाइरल गीतलाई नस्वीकार्ने हुन्न भन्दै कटाक्ष गरेका छन् ।

अहिले के कस्ता गीतका ट्रेन्ड चलेका छन् भन्ने पनि उनले लामो स्टाटसमार्फत खुलाएका छन् ।

उनले लेखेका छन्

हाम्रो सुसान्तजीको गीत निकालिसक्यो हिन्दी भर्सनमा । नेपाली संङ्गीतको बर्तमान बिकाश क्रममा सबैभन्दा धेरै खुसी म छु, कारण अब नेपाली संङ्गीत पुस्तान्तरण भएको छ । मेरो पुस्तामा संङ्गीत ब्यापार र राजनीति मात्र भयो, अब संस्कार बन्ने छ । जहाँ प्रेम रोपेर घृणा मात्र उत्पादन हुने छैन । बिस्ताराले पोल्यो चलोस् कि, पल्लाघरे साहिँलो ढलोस् मलाई यी बिषयभन्दा माथिको चेतना संङ्गीत संस्कारको थियो । जसमा नेपाली संङ्गीतले अलग्गै किसिमको बाटो समातोस भन्ने सधै लाग्यो आज कामी दाइको घन ठोकाइदेखि लिएर, दर्याम दर्यामले पनि बाटो लिएकै छ ।

मयाको पोकोदेखि लिएर बारूलोको दुलोसम्मका सबै गीत हुन्। सेतै दूध सेतै चौलानीदेखि तुरररर हासम्म पनि संङ्गीत नै हुन् । हैन भन्ने को ? गीत सबैका गीत हुन्, संङ्गीत सबैका संङ्गीत हुन् । बिहेको राति के हुन्छ होला भन्ने कौतूहलता हुनै हुन्न र गीतमार्फत सोध्नै पाइन्न भन्ने छैन । जति माथि तान्यो त्यति तल झर्ने तिज गीतको फरिया पनि कल्चर नै हो । आखिर जे जसो र जसरी भए पनि गीत बनेकै छन्, ब्यापार भएकै छ, कमाऊनेले कमाएकै छन् र रमाऊन सक्नेहरू रमाएकै छन् । यी तमाम कलाकार हुन, श्रस्टा हुन् । हैनन भन्ने को ? संसारमा सबै कुराको बिकल्प छ ।

मेरो बिकल्प तिमी हौ भने तिम्रो बिकल्प पनि कोही अर्को छ । मान्छे सामाजिक रूपमा सकिने भनेको त आफ्नै आचरण, अहंकारले हो । आज कोही अस्ताएको छ भने ऊसको आफ्नै आचरण र अहंकारले अस्ताएको छ। अरूको अस्तित्व पनि स्विकार्नेहरू संङ्गीत क्षेत्रमा लामै समय कृयाशील मात्र हैन, चलेकै अबस्थामा पनि छन् । जनताले मन पराएपछि भो ।