रसुवाको बेत्रावती बजार : पहिले चहलपहल, अहिले भग्नावशेष


रसुवा । उत्तरगया गाउँपालिका–५ स्थित बेत्रावती बजार विनाशकारी बाढीपछि उजाड बनेको छ। केही समयअघिसम्म चहलपहल र व्यापार–व्यवसायले भरिएको बजार अहिले ढुंगा, माटो, गेग्रान र भग्नावशेषले भरिएको छ।

बाढीले बजार क्षेत्रका घर, पसल तथा विभिन्न संरचनामा ठूलो क्षति पुर्‍याएको छ। बाढीअघि व्यापारिक गतिविधि र मानिसको आवतजावतले व्यस्त रहने बेत्रावती अहिले सुनसान र क्षतविक्षत अवस्थामा पुगेको छ।

स्थानीयका अनुसार रसुवातर्फको बेत्रावती बजारमा रहेका अधिकांश घर तथा संरचना बाढीले बगाएको वा क्षतिग्रस्त बनाएको छ। उत्तरगया गाउँपालिकाका अनुसार खाल्टे क्षेत्रमा रहेका करिब ३०० अस्थायी घरधुरीसमेत बाढीबाट पूर्ण रूपमा प्रभावित भएका छन्।

पहिले चहलपहल, व्यापार–व्यवसाय र मानिसको भीडले भरिएको बेत्रावती बजार। अहिले उजाड बस्ती, भग्नावशेष र बाढीले छाडेको पीडादायी दृश्य।

बाढीले बेत्रावतीको भौतिक संरचनामा मात्र क्षति पुर्‍याएको छैन, स्थानीयको जनजीवन र वर्षौंदेखिको बजारको स्वरूपसमेत बदलिदिएको छ। बाढीपछि बेत्रावतीको अवस्था हेर्दा विपत्तिले कति ठूलो विनाश निम्त्याएको थियो भन्ने सहजै अनुमान गर्न सकिन्छ।