रसुवा । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवनमा ठूलो मानवीय, भौतिक तथा आर्थिक क्षति पुर्याएको छ। बाढीले जनजीवन तहसनहस बनाउनुका साथै नेपाल–चीन स्थलमार्गसँग जोडिएको प्रमुख नाका रसुवागढीको संरचनामा समेत ठूलो क्षति पुर्याएको छ।

जलविद्युत् आयोजनाको हबका रूपमा चिनिने रसुवाका विभिन्न आयोजनामा समेत बाढीले ठूलो क्षति पुर्याएको छ। आयोजनाका सुरुङभित्र मानिसहरू फसेपछि उनीहरूको उद्धारका लागि सुरक्षाकर्मीहरूले निरन्तर खोज तथा उद्धार अभियान सञ्चालन गर्दै आएका थिए।
बाढी आएको पहिलो दिनदेखि नै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको सुरक्षा संयन्त्र नागरिकको उद्धार तथा राहतमा खटिएको थियो। भोक, निद्रा र आफ्नो सुरक्षाको समेत पर्वाह नगरी नेपाली सेनाको टोलीले सुरुङभित्र फसेकाहरूको खोजी तथा उद्धारका लागि अथक प्रयास जारी राखेको थियो।
दश दिनसम्मको निरन्तर प्रयासपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट मानिसको आवाज सुन्न सफल भएपछि उद्धार टोलीले खोजी कार्यलाई थप तीव्र बनाएको थियो। त्यसपछि नेपाली सेनाको उद्धार टोलीले सुरुङभित्र फसेका सञ्जय साह र कविर महर्जनलाई जीवितै उद्धार गर्न सफल भएको छ।

दुई जनालाई सकुशल उद्धार गर्न सफल भएपछि उद्धारमा खटिएका नेपाली सेनाका जवान तथा सम्पूर्ण टोलीको मनोबल अझ उच्च भएको छ। विपद्को कठिन परिस्थितिमा सुरुङभित्र फसेका नागरिकलाई जीवितै बाहिर निकाल्न सफल हुनु नेपाली सेनाको अथक प्रयास र साहसको महत्वपूर्ण उदाहरण बनेको छ।

दुई जनाको जीवित उद्धारपछि नेपाली सेनाको हौसला थप बढेको छ भने अन्य बेपत्ता नागरिकको खोजी कार्यलाई पनि तीव्र बनाइएको छ। बाढीपछि रसुवालगायत प्रभावित जिल्लामा खोज, उद्धार तथा राहतको काम अझै जारी छ।



















प्रतिक्रिया