मौसम विभागको चेतावनी : यी ठाउँमा हुन सक्छ भारी वर्षा


काठमाडौं । बङ्गालको खाडीको पूर्वी भूभागमा विकसित न्यून चापीय क्षेत्र क्रमशः बलियो बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्दै गएपछि त्यसको प्रभाव नेपालमा समेत पर्न सक्ने मौसमविद्ले बताएका छन्।

नेपाल मौसम विज्ञान विभागका मौसमविद् टेकबहादुर धामीका अनुसार उत्तर अण्डमान सागर तथा आसपास बनेको न्यून चापीय प्रणाली असोज ७ गते आसपास दक्षिण ओडिशा र उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्र नजिक पुग्ने सम्भावना छ। त्यसको सम्भावित प्रभाव नेपालमा समेत पर्ने देखिएको उनले बताए।

विभागका अनुसार हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आगामी २४ घण्टामा हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने तराईका एक–दुई स्थानमा पनि मध्यम वर्षा हुन सक्नेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले विभागले पहेँलो चेतावनी जारी गरेको छ। विभागले न्यून चापीय प्रणालीको निरन्तर निगरानी भइरहेको जनाउँदै आवश्यकताअनुसार थप सूचना जारी गर्ने जनाएको छ।

मौसमविद्का अनुसार पछिल्लो प्रणालीको विकास र गतिको आधारमा नेपालमा पर्ने प्रभाव थप स्पष्ट हुँदै जानेछ। विभागले सर्वसाधारणलाई मौसमसम्बन्धी आधिकारिक सूचना हेरेर आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।