मोरङ र कैलालीमा बालिकामाथि बलात्कारको आरोप, दुई पक्राउ


काठमाडौँ । नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले मोरङ र कैलालीबाट दुई जनालाई पक्राउ गरेको छ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–११ तीनमुढेका ६० वर्षीय अलकछन माझी चौधरीलाई ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै उजुरी परेपछि इलाका प्रहरी कार्यालय विराटचोकबाट खटिएको टोलीले उनलाई आइतबार दिउँसो नियन्त्रणमा लिएको हो।

त्यस्तै, कैलालीको गोदावरी नगरपालिका–९ का ४५ वर्षीय नवीन चौधरी पक्राउ परेका छन्। ‘झेलु’ भनेर चिनिने चौधरीलाई १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा आइतबार साँझ इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार दुवै घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको छ।