चितवन । भरतपुर अस्पतालमा साउनयता १२२ जना सर्पदंशका बिरामीको उपचार गरिएको छ। तीमध्ये १२ जनालाई विषालु सर्पले डसेको पाइएको छ।
अस्पतालका आकस्मिक कक्ष प्रमुख अलाउदीन मियाँका अनुसार साउनमा ५६ जना र भदौमा ६६ जना सर्पदंशका बिरामी उपचारका लागि अस्पताल आएका थिए। दुई महिनाको अवधिमा १२ जनालाई ‘एन्टिस्नेक भेनम’ प्रयोग गरिएको उनले बताए।
चितवनसँगै नवलपुर, मकवानपुर, तनहुँलगायतका जिल्लाबाट समेत सर्पदंशका बिरामी उपचारका लागि भरतपुर अस्पताल आउने गरेका छन्। एन्टिस्नेक भेनम आवश्यक पर्ने बिरामीलाई सघन उपचार कक्षमा राखेर उपचार गर्ने गरिएको अस्पतालले जनाएको छ।
गत वर्षभरि भरतपुर अस्पतालमा ४९१ जना सर्पदंशका बिरामी उपचारका लागि आएका थिए। वर्षात्को समयमा सर्पदंशका घटना बढी हुने र खेतीपातीको समयमा पनि जोखिम बढ्ने चिकित्सकको भनाइ छ।
विषालु सर्पले डसेमा पेट दुख्ने, कमजोरी हुने, आँखाको परेला झर्ने, हातखुट्टा चलाउन कठिन हुने, बान्ता हुने तथा बेहोस हुनेजस्ता लक्षण देखिन सक्ने मियाँले बताए। विष नभएको सर्पले डस्दा सामान्यतया टोकेको ठाउँमा घाउ हुने र सुन्निने हुन्छ।
चितवन क्षेत्रमा कोब्रा, करेत र भाइपरलगायत विषालु सर्प पाइने गरेका छन्। सर्पले टोकेमा दौडिन वा धेरै हिँडडुल नगरी शरीरलाई स्थिर राख्न र सकेसम्म छिटो नजिकको अस्पताल पुर्याउन चिकित्सकले सुझाव दिएका छन्।



















प्रतिक्रिया