झापाको बङ्गुर फार्ममा भेटिएको कङ्काल कसको ? ललितपुरबाट हराएका पुरुषमाथि आशंका


विराटनगर । झापाको मेचीनगर नगरपालिका–७ भान्साखोलास्थित एक बङ्गुर फार्ममा गाडिएको अवस्थामा मानव कङ्काल फेला परेको छ। ललितपुरबाट बेपत्ता भएका एक पुरुषको खोजीका क्रममा प्रहरीले उत्खनन गर्दा कङ्काल फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ललितपुरको साविक मणिखेल, हाल महाङ्काल गाउँपालिका–१ का दिलनाथ बजगाईँ २०८१ कात्तिक २९ गतेदेखि मेचीनगर नगरपालिका–६ काँकडभिट्टाबाट बेपत्ता भएका थिए। उनी बेपत्ता भएपछि उनकी श्रीमती तुलसा बजगाईँले अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा प्रहरीमा जाहेरी दिएकी थिइन्।

अनुसन्धानका क्रममा दिलनाथसँगै उठबस गर्ने म्याग्दीका ४५ वर्षीय ‘राम’ भनिने गुप्तबहादुर सिंहमाथि प्रहरीले शङ्का गरेको थियो। हाल मेचीनगर–१० बस्दै आएका सिंहलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले देखाएको स्थानका आधारमा प्रहरीले बुधबार मेचीनगर–७ भान्साखोलास्थित बङ्गुर फार्ममा उत्खनन गरेको थियो।

सिंहले स्थानीय जयप्रसाद तिवारीको जग्गा भाडामा लिएर उक्त स्थानमा बङ्गुर फार्म सञ्चालन गर्दै आएका थिए। स्थानीय बासिन्दा र जनप्रतिनिधिको रोहबरमा जेसीबी प्रयोग गरी फार्म परिसरमा उत्खनन गर्दा मानव आकृतिको कङ्काल फेला परेको प्रहरीले जनाएको छ।

फेला परेको कङ्काल बेपत्ता दिलनाथ बजगाईँकै हो वा अन्य व्यक्तिको भन्नेबारे भने प्रहरीले यकिन गरिसकेको छैन। कङ्काल परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ भने पहिचानका लागि डीएनए परीक्षणलगायत आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बङ्गुर फार्म सञ्चालक गुप्तबहादुर सिंह र भारतको अलिपुरद्वार, वीरपारा घर भई हाल मेचीनगर–८ बस्ने ४९ वर्षीय सञ्जय लामालाई पक्राउ गरेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला