चोरीको आरोपमा जनप्रतिनिधिसहित समूह पक्राउ, को–को परे ?


बैतडी । घर फोडेर चोरी गरेको आरोपमा बैतडी प्रहरीले दशरथचन्द नगरपालिकाका एक कार्यपालिका सदस्यसहित चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दशरथचन्द नगरपालिका–५ का वडा सदस्य तथा नगर कार्यपालिका सदस्य विनोदराम लोहार, लक्ष्मण मौनी, महेश लोहार र तबिराम लोहार रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक दीपककुमार रायका अनुसार दशरथचन्द नगरपालिका–५, अलागाउँका जयदेव भट्टको घरको छत फुटाएर तामाका भाँडाकुँडा चोरी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्। उक्त घरमा करिब एक महिनाअघि चोरी भएको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा कार्यपालिका सदस्य लोहारको योजनामा घरको छत फुटाएर चोरी गरिएको खुलेको प्रहरी नायब उपरीक्षक रायले बताए। उनीहरूबाट सुन लगाउने पोते तथा तामाका भाँडाकुँडा बरामद भएको प्रहरीले जनाएको छ।

बरामद गरिएको सुन आधा काटिएको अवस्थामा फेला परेको र त्यसको केही भाग गायब रहेको प्रहरीको भनाइ छ। यसै प्रकृतिको अर्को चोरीको घटनाबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका लोहार २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट दशरथचन्द नगरपालिका–५ को वडा सदस्यमा निर्वाचित भएका थिए। पछि उनी नगर कार्यपालिका सदस्यमा मनोनीत भएका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।