जाजरकोटमा जिप दुर्घटना : चालकसहित दुई जनाको मृत्यु, तीन जना घाइते


जाजरकोट । जाजरकोटको जुनिचाँदे गाउँपालिका–२ गैरीगुवामा जिप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

बिहीबार बिहान करिब २ बजे सुर्खेतबाट जुनिचाँदेतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च १२४३ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा जिप चालक जुनिचाँदे गाउँपालिका–९ कल्ली स्यालाका २० वर्षीय सन्तबहादुर बस्नेत र जुनिचाँदे गाउँपालिका–३ स्यालाका दिलबहादुर भण्डारीकी ३० वर्षीया श्रीमती बिपना भण्डारीको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा दिलबहादुर भण्डारी, उनका चार वर्षीय छोरा सुशील भण्डारी र ५० वर्षीया सितला टमटा घाइते भएका छन्। उनीहरूको टाउको, घाँटी, छाती, हात तथा ढाडमा चोट लागेको र अवस्था मध्यम रहेको बताइएको छ।

घाइते तीनै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ। दुर्घटनाको थप विवरण आउन बाँकी छ।