न्यायाधीश बमको हत्यामा दोषी ठहरिएका बाबु थापा पक्राउ परे


काठमाडौं । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्या प्रकरणमा दोषी ठहर भएका बाबु थापा पक्राउ परेका छन्। जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका थापालाई प्रहरीले सर्लाहीस्थित उनकै घरबाट पक्राउ गरेको हो।

सर्लाहीको बागमती नगरपालिका–१ निवासी थापालाई इलाका प्रहरी कार्यालय हरिवन र इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाइएको छ। पक्राउका क्रममा उनको साथबाट दुई थान पेस्तोलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

न्यायाधीश बमको हत्या गरेको कसुरमा अदालतले थापालाई जन्मकैदको सजाय सुनाएको थियो। उनी यसअघि २०७१ सालमा पनि पक्राउ परेका थिए।

२०६९ जेठ १८ गते काठमाडौंको यूएन पार्कनजिकै न्यायाधीश बममाथि गोली प्रहार गरी हत्या गरिएको थियो। बंगलामुखी मन्दिरबाट फर्कँदै गरेका बमको गोली हानी हत्या भएपछि घटनाको अनुसन्धान गरिएको थियो।

जन्मकैदको सजाय भोगिरहेका थापा जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका थिए। फरार भएपछि प्रहरीले खोजी गरिरहेको अवस्थामा उनलाई सर्लाहीस्थित घरबाट पक्राउ गरिएको हो।