काठमाडौँ । बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको संख्या दुई लाख ६२ हजार नाघेको छ । घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रु ३७ हजार ९६४ वटा सवारीसाधनमार्फत उपत्यकाबाट बाहिरिएका हुन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार दसैँ नजिकिएसँगै उपत्यकाका विभिन्न नाकाबाट घर फर्किने यात्रुको चाप बढेको छ । अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा उपत्यकामा बसोबास गर्दै आएका नागरिक दसैँ मनाउन आफ्नो जन्मथलो फर्किन थालेपछि बसपार्क र प्रमुख सडक नाकामा चहलपहल बढेको हो ।
उपत्यका छाड्ने यात्रुमध्ये एक लाख १५ हजार ८६ जना महिला र एक लाख ६१ हजार १६७ जना पुरुष रहेका छन् । लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्दै गएको प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीका अनुसार नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायतका नाकाबाट यात्रु बाहिरिने क्रम जारी छ । यात्रुको संख्या बढेसँगै यी नाकामा सवारीसाधनको आवागमन पनि बाक्लिएको छ । यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुर्याउन तथा सवारी चाप व्यवस्थापन गर्न ट्राफिक प्रहरीले निगरानी बढाएको छ ।
दसैँ, तिहारलगायत चाडपर्वका समयमा यात्रुको सुरक्षा सुनिश्चित गर्न र सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी चौबिसै घण्टा सडकमा खटिएको एसएसपी काफ्लेले बताए । यात्राको क्रममा हुन सक्ने जोखिम कम गर्न सवारीसाधनको अवस्था, चालकको स्वास्थ्य र सवारी चलाउने समयजस्ता विषयमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।
यातायात व्यवस्था विभागका अनुसार नागढुङ्गा–नौबिसे, मुग्लिन–नारायणगढ, कान्ति लोकपथ र बीपी राजमार्गलगायतका प्रमुख सडकमा दुवैतर्फ यातायात सञ्चालन भइरहेको छ । दसैँका लागि घर फर्किने यात्रुको चाप बढिरहेकाले सुरक्षित यात्रा गर्न र ट्राफिक नियम पालना गर्न सम्बन्धित निकायले आग्रह गरेका छन् ।
















प्रतिक्रिया