चितवन । चितवनको नारायणी नदीमा खुट्टा धुने क्रममा डुबेर आमा र उनका ६ वर्षीय छोरा बेपत्ता भएका छन्। उनीहरूसँगै रहेकी ११ वर्षीया छोरीको भने प्रहरीले उद्धार गरेको छ।
बेपत्ता हुनेमा खैरहनी नगरपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–१२ मुनालचोकमा बस्दै आएकी ३२ वर्षीया सिर्जना शर्मा र उनका ६ वर्षीय छोरा प्रशिद्ध पौडेल रहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनीहरू भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी नदी किनारमा खुट्टा धुन गएका थिए। सोही क्रममा आमा र छोरा नदीमा डुबेर बेपत्ता भएका हुन्।
घटनाबारे जानकारी पाएपछि वडा प्रहरी कार्यालय नारायणगढले विपद् उद्धार टोलीसँग समन्वय गरी ११ वर्षीया छोरी प्रसिद्धी पौडेलको उद्धार गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उद्धार गरिएकी बालिकाकी आमा र भाइ भने अझै बेपत्ता छन्। उनीहरूको खोजीका लागि उद्धार टोली परिचालन गरिएको छ।
बेपत्ता आमा–छोराको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
















प्रतिक्रिया