काठमाण्डाै – कोरोना भाइरस (कोभिड १९) काे जोखिमबाट सतर्कता अपनाउन सोमबारदेखि पशुपतिमा विशेष पूजा नगरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
कोषले शुक्रबारदेखि नै विशेष पूजाको रसिद काट्न बन्द गरेको थियो । बिहीबारसम्म काटेका रसिदको विशेष पूजा आइतबार सकिएपछि सोमबारदेखि भक्तजनले मनोकाङ्क्षा पूरा गर्ने उद्देश्यले गर्ने विशेष पूजा नगरिने कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिनुभयो ।
कोषले भक्तजनसँग पूजाका लागि तोकिएको शुल्क लिएर विशेष रुद्राभिषेक गर्ने व्यस्था गरेको थियो । विशेष पूजाका लागि धेरै भक्तजनको रुचि पनि बढ्दै गएको थियो । कोषका लागि आम्दानीको स्रोत पनि बनेको विशेष पूजा काेराेना भाइरसको सतर्कता लागि २५ जनाभन्दा बढी उपस्थित हुन नपाउने नियमका कारण स्थगित गरिएको हो ।
यसले पशुपतिको नित्य पूजामा कुनै प्रभाव नपर्ने उहाँले बताउनुभयो । पशुपतिमा दर्शनका लागि आउने भक्तजनका लागि तीन मिटर परैबाट दर्शन गर्ने व्यवस्था मिलाइएको छ । पशुपति आउने सबै भक्तजनलाई अनिवार्य रुपमा मास्क लगाएर आउन पनि कोषले आह्वान गरेको छ ।
पशुपति मूल मन्दिरभित्र दर्शनका लागि छिर्ने भक्तजनलाई पश्चिम ढोका अघि साबुन, पानी, स्यानिटाइजर लगायत सुरक्षाका उपाय पनि अललम्बन गरिएकाे छ । यसैगरी पशुपति क्षेत्रमा हुने ठूला यज्ञ पनि बन्द गरिएको छ । चैत ११ गतेदेखि हुन लागेको महारुद्रयाग पनि अहिलेलाई स्थगित गरिएको छ ।
पशुपतिमा हुने गङ्गा आरतीमा आइतबारदेखि २५ जनाभन्दा कम मानिस मात्र सहभागी हुनेछन् । कोराेनाको त्रास कम भएपछि अहिले स्थगित गरिएका विशेष पूजा लगायत यज्ञादि पनि गरिने जनाइएको छ ।
प्रतिक्रिया