पुजा शर्मा र साम्राज्ञीको लागि लडन तयार:प्रियका कार्की


राष्ट्रिय स्तरका संचार माध्यमहरुबाट खुल्लमखुल्ला नेपाली महिला कलाकारहरुको शारिरिक बनावट माथि छुद्र टिप्पणी गर्दा र संस्कारको मापदण्ड उनले लगाउने पहिरनसँग जोडिदिँदा हामीले जनाएको विरोधमा, तपाँईहरुको प्रतिकृयात्मक विद्वता ‘यस्तै वा यो भन्दा गम्भीर प्रकृतिको अर्को घटनामा किन बोलिनस्’ भन्ने मै सिमीत रहेको देख्दा अफशोच लागिरहेको छ। तपाँईहरुको यस्तै टिप्पणीहरुले नै शायद पटक पटक घट्ने यस्तै घटनाहरु सामान्यिकरण हुँदा हुन्। कमसेकम एकचोटि साथ र समर्थन दिएर न्यायलाई स्थापित गराउन मद्दत त गर्नुहोस् – लड्नलाई हामीसँग धेरै मोर्चाहरु छन्, विषयहरु छन्।

हो हामीले सबै बेला उतिकै शक्तिशाली र ऐक्यताबध्द भएर बोल्नु पर्ने विषयमा बोलेनौँ होला, लड्नुपर्ने मैदानमा लडेनौँ होला, अग्रपंक्तिमा उभिन सकेनौँ पनि होला। कमीकमजोरीहरु भए होलान्। तर महोदय, एक मुठ्ठी सास हामी भित्र पनि छ। एक झिल्का आगो हामीसँग पनि छ। र त्यो सास, त्यो आगो भएसम्म लड्छौँ। हरेक अन्यायको बिरुध्दमा लड्छौँ। कहिलेकाँहि देखिने गरि आफुले पाएका मंचहरुबाट लड्छौँ। कहिलेकाँहि हात समाई पंक्तिबध्द भएर न्यायालयको ढोकासम्म पुगेर लड्छौँ। पुजाको लागि पनि लड्छौँ, साम्राज्ञीको लागि पनि लड्छौँ। लडिरहेका छौँ। संघर्षका माध्यम र स्वरुप फरक भए होलान् तर चिन्ता नगर्नुस्, हामी लड्छौँ।

र, सक्नुहुन्छ भने यो संघर्षमा सामेल हुनुस्, शायद तपाँईहरुका बिद्वतापूर्ण टिप्पणीहरु, त्यतिबेला झन अर्थपूर्ण हुनेछन्। नभुलौँ – आफ्नो वचन र वाणी, विवेक र व्यवहार, साहस र संघर्ष तथा संस्कार र संवेदनाहरुको परिष्कृत रुपान्तरण गर्दै हामी सबै आ-आफ्नो उत्कृष्ट संस्करण बन्ने यात्रामा छौँ। तपाँईहरुको चेत त्यसै अनुरुप खुल्ने छन् भन्ने बिश्वास लिएका छौँ। यो सामाग्री प्रियका कार्की को फेसबुक बाट साभार गरियको हो।