अन्तर्राष्ट्रिय सम्मानबाट ‘नेपाल स्नेही काख’ सम्मानित


काठमाडौँ l मानसिक सन्तुलन गुमाएर सडकमा बेवारिसे जीवन बिताइरहेका व्यक्तिहरूको उद्धार तथा पुनर्स्थापनामा सक्रिय नेपाल स्नेही काख ले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान प्राप्त गरेको छ।

अन्तर्राष्ट्रिय संस्था World Book of Records London ले संस्थाकी सञ्चालिका श्रीनेहा पोखरेल सहित उनको टिमलाई विशेष अवार्ड प्रदान गरेको हो।

संस्थाले लामो समयदेखि सडकमा कष्टकर जीवन बिताइरहेका नागरिकहरूको उद्धार गर्दै गास, बास, कपासका साथै स्वास्थ्य तथा मनोसामाजिक सहयोग प्रदान गर्दै आएको छ। यही मानवीय सेवाको कदरस्वरूप उक्त सम्मान प्रदान गरिएको जनाइएको छ।

बिहीबार काठमाडौँस्थित Yak & Yeti Hotel मा आयोजित कार्यक्रममा बेलायत, भारत र नेपालसहित विभिन्न देशका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सामाजिक सेवा, मानवता र नेतृत्वका क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

सम्मान ग्रहण गर्दै श्रीनेहा पोखरेलले यो उपलब्धि व्यक्तिगत नभई सम्पूर्ण टिम, सहयोगी र शुभेच्छुकहरूको साझा प्रयास भएको बताइन्। साथै, उनले आगामी दिनमा अझ प्रभावकारी रूपमा सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिन्।