केएमसीमा भव्य रूपमा मनाइयो ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस


काठमाडौं l काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र स्वास्थ्य सेवामा नर्सहरूको अतुलनीय योगदानबारे प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा अस्पताल निर्देशक प्राडा. मीना थापाले नर्सहरू स्वास्थ्य सेवाको मेरुदण्ड भएको उल्लेख गर्दै बिरामीको उपचारमा चिकित्सकसँगै नर्सहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहने बताउनुभयो । उहाँले नर्सिङ सेवा पेशा मात्र नभई, मानवताको सेवा भएको धारणा राख्नुभयो ।

त्यसैगरी मेट्रोन बन्दना रिजालले नर्सिङ पेशा धैर्य, करुणा र अनुशासनको प्रतिक भएको बताउँदै बिरामीको सेवामा समर्पित रहनु नै साँचो नर्सको पहिचान भएको उल्लेख गर्नुभयो । उहाँले केएमसीका नर्सहरूले उच्च व्यावसायिकता र आत्मीय सेवामार्फत संस्थाको गरिमा बढाइरहेको बताउनुभयो ।

प्रशासन प्रमुख नारायण प्रसाद दाहालले अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउन नर्सहरूको योगदान सधैं अग्रस्थानमा रहने बताउनुभयो । उहाँले नर्सहरूको मेहनत, संवेदनशीलता र जिम्मेवारीबोधकै कारण अस्पतालप्रति सेवाग्राहीको विश्वास बढ्दै गएको धारणा राख्दै आगामी दिनमा पनि इमान्दारिता, सहानुभूति र मुस्कानसहितको सेवालाई निरन्तरता दिन आग्रह गर्नुभयो । यस्तै सुपरभाइजर रक्षा भट्टराईले नर्सहरू बिरामीको सबैभन्दा नजिक रहेर सेवा गर्ने जनशक्ति भएकाले उनीहरूको भूमिका अनुपम रहेको बताउनुभयो ।

अन्तर्राष्ट्रिय नर्स दिवस आधुनिक नर्सिङ सेवाकी अग्रणी व्यक्तित्व फ्लोरेन्स नाइटिंगेलको जन्मदिनको अवसर पारेर प्रत्येक वर्ष मे १२ मा मनाइन्छ । उहाँको जन्म सन् १८२० मे १२ मा इटालीमा भएको थियो । नाइटिंगेलले बिरामीको सेवा, सरसफाइ, अनुशासन र मानवीय व्यवहारमार्फत नर्सिङ पेशालाई सम्मानित र व्यवस्थित बनाउनुभएको थियो ।

यस वर्ष ‘हाम्रा नर्सहरू, हाम्रो भविष्य— सशक्त नर्सहरूले जीवन बचाउँछन्’ भन्ने नारासहित दिवस मनाइएको हो । नर्सहरू अस्पताल, स्वास्थ्य संस्था, आपतकालीन सेवा, शल्यक्रिया कक्ष, प्रसूति सेवा, वृद्ध स्याहार तथा समुदायस्तरको स्वास्थ्य सेवासम्म हरेक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्छन् । बिरामीलाई औषधि उपलब्ध गराउने, उपचारमा सहयोग गर्ने, स्वास्थ्य अवस्था निगरानी गर्ने, मानसिक सान्त्वना दिने तथा परिवारलाई परामर्श दिने जस्ता जिम्मेवारी नर्सहरूले निभाउँदै आएका छन् ।

कार्यक्रमका वक्ताहरूले केएमसीका नर्सहरूले मुस्कानसहित गुणस्तरीय सेवा प्रदान गरिरहेको उल्लेख गर्दै आगामी दिनमा पनि पेशाप्रतिको इमान्दारिता, अनुशासन र सेवाभावलाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो । कार्यक्रममा केक काटेर शुभकामना आदानप्रदान गरिएको थियो । यो दिवस मनाउनुको मुख्य उद्देश्य नर्सहरूको योगदानको सम्मान गर्नु, स्वास्थ्य क्षेत्रमा उनीहरूको महत्वबारे जनचेतना फैलाउनु तथा नयाँ पुस्तालाई नर्सिङ पेशातर्फ आकर्षित गर्नु हो ।