सरकारी अस्पतालमा जन्मने प्रत्येक नवजातलाई १ ग्राम सुनको औंठी दिने तामिलनाडु सरकारको घोषणा


काठमाडौं । भारतको तामिलनाडु सरकारले राज्यका सरकारी अस्पतालहरूमा जन्मने प्रत्येक नवजात शिशुलाई १ ग्राम सुनको औंठी उपहारस्वरूप प्रदान गर्ने घोषणा गरेको छ। मुख्यमन्त्री सी. जोसेफ विजयको नेतृत्वमा रहेको सरकारले ‘थाइमामन थङ्गा मोथिरा थिट्टम’ (मामाको सुनको औंठी योजना) अन्तर्गत यो कार्यक्रम सञ्चालन गर्ने भएको हो।

यस योजनाको उद्देश्य सरकारी अस्पतालमा सुरक्षित प्रसूति गराउन प्रोत्साहन गर्नु, आमा तथा नवजात शिशुको स्वास्थ्य संरक्षणलाई प्राथमिकता दिनु र परिवारहरूलाई सरकारी स्वास्थ्य सेवाप्रति आकर्षित गर्नु रहेको बताइएको छ।

सरकारका अनुसार योजनाअन्तर्गत सरकारी अस्पतालमा जन्मिने प्रत्येक नवजात शिशुलाई १ ग्राम सुनको औंठी प्रदान गरिनेछ। तामिलनाडु सरकारले यसलाई मातृ तथा शिशु स्वास्थ्य सेवामा जनसहभागिता बढाउने र सुरक्षित संस्थागत प्रसूतिको दर अझै वृद्धि गर्ने अभियानका रूपमा अघि सारेको जनाएको छ।

यो घोषणा सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा व्यापक चर्चा सुरु भएको छ। धेरैले यसलाई नवजात शिशु र परिवारप्रति राज्यको सकारात्मक पहलका रूपमा स्वागत गरेका छन् भने केहीले यसको दीर्घकालीन आर्थिक प्रभावबारे प्रश्नसमेत उठाएका छन्।