काठमाडौं – पूर्वाञ्चल विश्वविद्यालयको ४३औँ सभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ।
सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा बसेको सभाले रजिस्ट्रार प्रा.डा. पन्नाबहादुर थापाले प्रस्तुत गरेको प्रस्तावित आय–व्यय विवरण सर्वसम्मतिले पारित गरेको हो।
सभामा उपकुलपति प्रा.डा. सुजनबाबु मरहट्टाले वार्षिक नीति तथा कार्यक्रम र रजिस्ट्रार थापाले बजेट प्रस्ताव प्रस्तुत गरेका थिए।
बैठकलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले बदलिँदो प्रविधि र विश्वव्यापीकरणको मागअनुसार उच्च शिक्षा प्रणालीलाई रूपान्तरण गर्नुपर्ने बताए। उनले विश्वविद्यालयले विद्यार्थीलाई रोजगारी खोज्ने मात्र नभई रोजगारी सिर्जना गर्न सक्ने उद्यमशील जनशक्तिका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।
उनले पारित नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्पष्ट कार्ययोजना, जिम्मेवारी र समयसीमा निर्धारण गर्न निर्देशन दिए। साथै, विश्वविद्यालयको भौतिक सम्पत्तिको अधिकतम उपयोग गर्दै विशिष्टीकृत विश्वविद्यालयका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याए।
शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलले बजेटको प्रभावकारी कार्यान्वयन गर्दै शैक्षिक प्रणाली सुधारमा केन्द्रित हुनुपर्ने बताए। अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले विश्वविद्यालयले प्रस्तुत गरेको बजेट तथा नीति कार्यक्रम सकारात्मक रहेको धारणा राखे।
विश्वविद्यालयले आगामी वर्ष शैक्षिक रूपान्तरण, प्रविधिमैत्री पूर्वाधार र चिकित्सा शिक्षाको विस्तारलाई मुख्य प्राथमिकतामा राखेको छ। गोठगाउँस्थित ८०५ बिघा जग्गामा गुरुयोजनाअनुसार एकीकृत भौतिक संरचना विकास गर्ने योजना अघि सारिएको छ।
त्यस्तै, एआई, डाटा साइन्स र साइबर सेक्युरिटीलगायतका विषयमा नयाँ तथा विशिष्टीकृत पाठ्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ। चिकित्साशास्त्र र इन्जिनियरिङतर्फ पनि विशिष्टीकृत पाठ्यक्रम विकास गर्ने नीति लिइएको छ।
विश्वविद्यालयका प्रशासनिक तथा शैक्षिक सेवाहरूलाई एकीकृत डिजिटल इकोसिस्टममार्फत सञ्चालन गरी सेवा प्रवाहलाई सहज, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्य राखिएको छ।
चिकित्सा शिक्षातर्फ गोठगाउँ परिसरमा निर्माणाधीन १०० शय्याको मातृ–शिशु अस्पताल निर्माण सम्पन्न गर्ने तथा कोशी अस्पतालसँगको सहकार्यमा चिकित्सा शिक्षाको गुणस्तर सुधार गर्ने योजना छ।
विश्वविद्यालयले जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरणसम्बन्धी विशेष अनुसन्धान केन्द्र स्थापना गर्ने, विदेशी विश्वविद्यालयसँग संयुक्त डिग्री तथा विद्यार्थी आदान–प्रदान कार्यक्रम सञ्चालन गर्ने र पछाडि परेका वर्गका लागि समावेशी छात्रवृत्तिको पहुँच विस्तार गर्ने कार्यक्रमसमेत अघि सारेको छ।
सभाले कार्यकारी परिषद्मा तीन वर्षका लागि तीन जनालाई मनोनयन गर्ने निर्णय पनि गरेको छ। डीनतर्फ चिकित्साशास्त्र संकायका डीन प्रा.डा. परिचा उपाध्याय ढुंगेल र कला, कानून तथा शिक्षाशास्त्र संकायका डीन प्रा.डा. कृष्णप्रसाद पाण्डे तथा शिक्षकतर्फ पू.वि. स्कुल अफ म्यानेजमेन्ट, विराटनगरमा कार्यरत प्राध्यापक मोहनबहादुर बस्नेत मनोनयन भएका छन्।
पारित नीति, कार्यक्रम तथा बजेटमार्फत पूर्वाञ्चल विश्वविद्यालयले आफूलाई गुणस्तरीय, प्रतिस्पर्धी, अनुसन्धानमुखी, प्रविधिमैत्री र आत्मनिर्भर शैक्षिक संस्थाका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ।





















प्रतिक्रिया