जोखिममा आधारित नियमन प्रणाली लागू गर्दै सेबोन


काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पुँजी बजारमा देखिएका जोखिम न्यूनीकरण गर्न जोखिममा आधारित नियमन प्रणाली लागू गर्ने तयारी गरेको छ।

संसद्को अर्थ समितिको बैठकमा बोल्दै सेबोनका अध्यक्ष डा. गोपालप्रसाद भट्टले जोखिम रहेका क्षेत्रलाई पहिचान गरी ती क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर नियमन गर्ने तयारी भइरहेको जानकारी दिए।

‘हामी अहिले जोखिममा आधारित भएर नियमन गर्ने सोचमा छौँ। जहाँ–जहाँ जोखिम छ, त्यहाँ नियमन गर्ने भनेका छौँ। हामी रिस्कलाई पहिलो प्राथमिकता दिनेछौँ,’ उनले भने।

अध्यक्ष भट्टले पुँजी बजारमा देखिएका केही विषय र चुनौतीका कारण चिन्ताको अवस्था सिर्जना भएको पनि बताए। प्रविधिको अवस्था, कर्मचारीको क्षमता तथा संरचनागत प्रणालीमा देखिएका चुनौतीका कारण संसद्ले समेत चासो दिनुपर्ने अवस्था आएको उनको भनाइ थियो।

‘एक–दुई वटा विषयले गर्दा हामी त्रसित पनि भएका छौँ। सिस्टमको स्थिति, कर्मचारी र क्षमतालाई हेर्दा संसद्ले समेत ध्यानाकर्षण गर्नुपर्ने विषय बन्यो,’ उनले भने, ‘यस क्षेत्रमा धेरै समस्या देखिएर नै समितिले बैठकमा बोलाएको हो। यस विषयमा हामीले सुधारका लागि निरन्तर काम गरिरहेका छौँ।’

बोर्डले लगानीकर्ताको हित संरक्षणलाई समेत प्राथमिकतामा राखेको अध्यक्ष भट्टले बताए। जोखिम देखिनेबित्तिकै हतारमा नियमन ल्याउनेभन्दा आवश्यकताअनुसार क्रमिक रूपमा सुधार गर्दै लैजाने नीति रहेको उनले स्पष्ट पारे।

‘एकै पटक रियाक्टिभ खालको रेगुलेसन हामी ल्याउँदैनौँ। विस्तारै ल्याउँछौँ,’ अध्यक्ष भट्टले भने।