जिप अनियन्त्रित भएर दुर्घटना, ८ जना घाइते


सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा स्कार्पियो दुर्घटना हुँदा आठ जना घाइते भएका छन्।

आज बिहान करिब ८ः३० बजे काभ्रेपलाञ्चोकबाट रामेछापतर्फ जाँदै गरेको बा.प्र.०१–०३१ च ९७४९ नम्बरको स्कार्पियो अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी स्थानीय प्रधान मेडिकल, रातामाटामा पुर्‍याएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि बिहान ९ बजे उनीहरूलाई धुलिखेल अस्पताल पठाइएको छ।

दुर्घटनामा बेथानचोक–१ बस्ने २८ वर्षीय रोमबहादुर योञ्जन, २१ वर्षीया मिनामाया तामाङ, ५६ वर्षीय दुर्गाबहादुर योञ्जन, ४३ वर्षीय धनबहादुर योञ्जन, ४५ वर्षीय प्रेम योञ्जन, ३० वर्षीय दिनेश योञ्जन, २० वर्षीय अनिल योञ्जन र ५२ वर्षीय टेकबहादुर थिङ घाइते भएका छन्।

जिप चालक काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ का २६ वर्षीय नारायण बस्नेत भने सकुशल रहेको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।