काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा क्षति पुगेर ४३० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिरिएपछि सरकारले काठमाडौंको विद्युत् आपूर्ति व्यवस्थापनका लागि वैकल्पिक प्रणाली विकास गर्ने तयारी थालेको छ।
बाढीका कारण त्रिशूली करिडोरबाट काठमाडौंको बालाजु र चपली क्षेत्रमा आउने विद्युत् अवरुद्ध भएपछि ती क्षेत्रमा रहेका प्रसारण लाइनमा चाप बढेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ। आगामी हिउँदमा विद्युत्को माग बढ्ने भएकाले आपूर्ति व्यवस्थापनका लागि अहिले नै पूर्वतयारी अघि बढाइएको मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यले बताए।
उनका अनुसार नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको विद्युत् व्यवस्थापनका लागि ‘टास्क फोर्स’ गठन गरी काम गरिरहेको छ। हिउँदे मागलाई ध्यानमा राखेर वैकल्पिक आपूर्ति प्रणाली विकास गर्ने विषयमा मन्त्रालयले आवश्यक गृहकार्य अघि बढाएको उनले जानकारी दिए।
यसैक्रममा मन्त्रालयले सडक विभाग र काठमाडौं महानगरपालिकासँग काठमाडौंमा थप भूमिगत विद्युत् ग्रिड निर्माण तथा विद्यमान भूमिगत प्रणालीलाई थप विश्वसनीय बनाउने विषयमा छलफल गरेको छ।
प्रवक्ता शाक्यका अनुसार भूमिगत वैकल्पिक ग्रिडको विश्वसनीयता बढाउने र आवश्यक स्थानमा नयाँ भूमिगत ग्रिड निर्माण गर्ने विषयमा निश्चित कार्यतालिकासहित सम्बन्धित निकायबीच सहकार्य गर्ने सहमति भएको छ।
छलफलमा सडक विभागका काठमाडौं डिभिजन प्रमुख सुवोध देवकोटाले भूमिगत ग्रिड निर्माणमा विभागका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए। काठमाडौं महानगरपालिकाका सार्वजनिक निर्माण विभाग प्रमुख सुरेशकुमार राईले फुटपाथभित्र भूमिगत तार व्यवस्थापनका लागि सहकार्य गर्ने बताए।
नेपाल विद्युत् प्राधिकरणका आयोजना निर्देशनालयका प्रमुख दुर्गानन्द बडियातले काठमाडौं उपत्यकामा भइरहेको भूमिगत तार व्यवस्थापनलाई थप व्यवस्थित बनाउँदै हिउँदे विद्युत् माग व्यवस्थापनमा आवश्यक सहकार्य गर्ने बताए।
काठमाडौंको हिउँदे लोड व्यवस्थापनका लागि प्राधिकरणले सम्बन्धित निकायसँग समन्वय बढाएको छ। प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले हिउँदमा विद्युत्मा पर्ने चाप व्यवस्थापन गर्न सबै निकायबीच उच्चस्तरीय समन्वय र सहकार्य आवश्यक रहेको बताए।






















प्रतिक्रिया