अवरुद्ध बेनी–बाबियाचौर सडक चार दिनपछि सञ्चालनमा


म्याग्दी । अविरल वर्षाका कारण अवरुद्ध बनेको बेनी–बाबियाचौर सडक चार दिनपछि सञ्चालनमा आएको छ। सडक खुलेसँगै म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहका बासिन्दालाई जिल्ला सदरमुकाम बेनी आउजाउ गर्न सहज भएको छ।

पूर्वाधार विकास कार्यालयले बेनीदेखि मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौर हुँदै पानाबगरसम्मको करिब १६ किलोमिटर सडक मर्मत गरी मंगलबार साँझदेखि यातायात सञ्चालनमा ल्याएको हो। असोज १० गतेदेखि सडक अवरुद्ध हुँदा पश्चिम म्याग्दीको जनजीवन प्रभावित भएको थियो।

अब बेनी–दरबाङ सडकअन्तर्गत पानाबगरदेखि बाङ्गेपहिरोसम्मको करिब २४ किलोमिटर सडकखण्डमा मर्मतको काम तीव्र पारिएको छ। धवलागिरि, मालिका र मङ्गला गाउँपालिकासहित बागलुङको तमानखोला गाउँपालिकालाई जोड्ने यो सडकखण्डमा दुईतर्फबाट उपकरण परिचालन गरी काम भइरहेको छ।

गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीका अनुसार स्थानीय तहमा उपलब्ध उपकरणसमेत परिचालन गरी सडक मर्मतलाई तीव्रता दिइएको छ। पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै जनजीवन सहज बनाउन प्रदेश सरकार र भौतिक मन्त्रालयसँग समन्वय गरेर सडक सञ्चालनको काम अघि बढाइएको उनले बताए।

जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार स्थानीय तह, प्रदेश र सङ्घीय सरकार मातहतका सडक यथाशीघ्र सञ्चालनमा ल्याउन सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए।

यसैबीच, बाढीपहिरोका कारण बेनी–जोमसोम–कोरला सडकखण्डमा समेत क्षति पुगेको छ। तिल्केनीचौरमा कालीगण्डकीले सडक कटान गरेको छ भने पोखरेबगरमा सडक पुलको पहुँचमार्ग र खामभित्तामा क्षति पुगेको छ।

क्षतिको विवरण सङ्कलन गरी मर्मतको काम अघि बढाउन सङ्घीय सरकारले खटाएको प्राविधिक टोली मंगलबार म्याग्दी पुगेको प्रजिअ गैरेले बताए। बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङसँगको यातायात सम्पर्क प्रभावित भएको छ।

सडक अवरोधका कारण कोरला नाकाबाट हुने आयात–निर्यात, मुस्ताङको स्याउ तथा च्याङ्ग्रा बजार पठाउने काम र कागबेनीमा हुने पितृ तर्पणसमेत प्रभावित भएको छ। शरद् यामको पर्यटकीय गतिविधिमा समेत सडक अवरोधको असर पर्ने देखिएको छ।