लोडसेडिङ नहुने आश्वासन मात्रै होइन, विकल्प खोज्नुपर्छ : कुलमान


काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले त्रिशूली नदीमा आएको बाढीपछि जलविद्युत् आयोजना, प्रसारण संरचना र लगानी सुरक्षाबारे गम्भीर चिन्ता व्यक्त गरेका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै घिसिङले भोटेकोशी हुँदै आएको बाढीले विद्युत्, सडकलगायत अत्यावश्यक पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको उल्लेख गरेका छन्। उनका अनुसार यसले तत्कालको संकटसँगै आगामी दिनको ऊर्जा सुरक्षा र विकासबारे समेत प्रश्न उठाएको छ।

विशेषगरी त्रिशूली नदी करिडोरमा सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजना, प्रसारण तथा वितरण संरचना र सडक पूर्वाधारमा भएको क्षति गम्भीर रहेको उनले बताएका छन्। त्रिशूली नदी बेसिनको भौगोलिक तथा भौगर्भिक अवस्था र पछिल्लो विपद्ले आयोजनाको भविष्य तथा लगानी सुरक्षाबारे चिन्ता बढाएको उनको भनाइ छ।

घिसिङले क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणसँगै लगानीकर्ताको विश्वास कायम राख्ने, प्रभावित आयोजना पुनः सञ्चालनमा ल्याउने र भविष्यमा यस्ता विपद्बाट पूर्वाधार जोगाउने दीर्घकालीन रणनीति आवश्यक रहेको बताएका छन्।

उनका अनुसार त्रिशूली र कालीगण्डकी करिडोरका प्रसारण लाइनमा भएको क्षतिले विद्युत् उत्पादन, प्रसारण र आपूर्तिको समग्र प्रणालीमा दबाब सिर्जना गरेको छ। आगामी हिउँदमा विद्युत्को माग व्यवस्थापन चुनौतीपूर्ण हुनसक्ने भन्दै तत्काल पुनर्स्थापना गर्न सकिने प्रसारण संरचनाको पहिचान र निर्माणलाई उच्च प्राथमिकता दिनुपर्ने उनले बताएका छन्।

‘लोडसेडिङ हुँदैन’ भन्ने घोषणा मात्र पर्याप्त नहुने भन्दै घिसिङले लोडसेडिङ हुन नदिन आजैदेखि आवश्यक पूर्वतयारी, वैकल्पिक प्रसारण व्यवस्था र आपूर्ति व्यवस्थापनको ठोस काम सुरु गर्न सरकारलाई सुझाव दिएका छन्।

त्यस्तै, बाढीबाट विस्थापित नागरिकका लागि सुरक्षित आवास, राहत तथा पुनर्स्थापनाको ठोस व्यवस्था गर्न सरकारसँग उनले आग्रह गरेका छन्। प्राकृतिक विपद् रोक्न नसकिए पनि विपद्पछिको राहत, पुनर्स्थापना र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सकिने उनको भनाइ छ।