ब्रोकर कम्पनीलाई चार समूहमा वर्गीकरण गरिने


काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र दलाल व्यवसायीलाई चार वर्गमा विभाजन गर्ने प्रस्ताव गरेको छ। पुँजी, जोखिम बहन क्षमता, सेवा विविधीकरण तथा संस्थागत क्षमताका आधारमा ब्रोकर कम्पनीलाई चार श्रेणीमा वर्गीकरण गर्ने प्रस्ताव गरिएको हो।

प्रस्तावित व्यवस्थाअनुसार ब्रोकर कम्पनीलाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गमा विभाजन गरिनेछ। ‘क’ वर्गमा धितोपत्र व्यापारी, ‘ख’ वर्गमा पूर्ण सेवा धितोपत्र दलाल, ‘ग’ वर्गमा कारोबारमुखी धितोपत्र दलाल र ‘घ’ वर्गमा विशिष्टीकृत धितोपत्र दलाल रहने व्यवस्था प्रस्ताव गरिएको छ।

धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीतिमा मार्जिन कारोबार, धितोपत्र सापटी तथा उधारो, सर्ट सेलिङ, अन्तरदिवसीय कारोबार र बजार निर्माता जस्ता गतिविधिका लागि छुट्टाछुट्टै स्वीकृति लिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

नीतिले ग्राहक गुनासो व्यवस्थापन, लगानीकर्ता क्षतिपूर्ति कोष तथा ग्राहकलाई दैनिक वा वास्तविक समयमै विवरण उपलब्ध गराउने व्यवस्थालाई समेत समेटेको छ। संकटग्रस्त अवस्थामा पुगेका धितोपत्र दलाल व्यवसायीको व्यवस्थापनसम्बन्धी प्रावधान पनि नीतिमा राखिएको छ।

त्यस्तै, ब्रोकर व्यवसायीले न्यूनतम चुक्ता पुँजीसँगै जोखिममा आधारित पुँजी पर्याप्तता कायम गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। प्रविधि तथा साइबर सुरक्षातर्फ डिजिटल केवाईसी, मल्टी–फ्याक्टर अथेन्टिकेसन, अर्डर तथा जोखिम व्यवस्थापन प्रणाली, साइबर सुरक्षा संरचना, नियमित सूचना प्रविधि अडिट र पेनिट्रेसन टेस्टिङलाई अनिवार्य बनाउने प्रस्ताव छ।

ब्रोकर व्यवसायमा मर्जर, प्राप्ति तथा व्यावसायिक एकीकरणलाई समेत सहजीकरण गर्ने नीति लिइएको छ। विद्यमान ब्रोकर कम्पनीलाई नयाँ मापदण्डमा समायोजन गर्न संक्रमणकालीन अवधि दिँदै पुँजी तथा प्रविधि स्तरोन्नति र पुनःवर्गीकरणको प्रक्रिया अघि बढाइने भएको छ।

धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति तीन चरणमा कार्यान्वयन गर्ने प्रस्ताव गरिएको छ। पहिलो चरणमा संस्थागत सुदृढीकरण, दोस्रोमा बजार सेवा विस्तार र तेस्रो चरणमा एकीकृत धितोपत्र मध्यस्थता प्रणालीको विकास गर्ने लक्ष्य राखिएको छ।