रसुवा । उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत ३३ जना विद्यार्थी दैनिक ज्यान जोखिममा राखेर विद्यालय पुग्न बाध्य छन्। भोटेकोशी बाढीपछि यातायात र आवतजावतको अवस्था बिग्रिएसँगै उनीहरूको विद्यालय यात्रा निकै कष्टपूर्ण र जोखिमपूर्ण बनेको हो।
शान्तिबजार र पैरेबेँसीबाट विद्यालय आउने विद्यार्थीले खोला तर्नेदेखि गाडीमा झुन्डिएर यात्रा गर्नुपर्ने तथा अन्तिममा तुइनको सहारामा त्रिशूली नदी पार गर्नुपर्ने अवस्था रहेको विद्यालयकी शिक्षिका रञ्जना थापाले बताइन्।
उनका अनुसार विद्यार्थीहरू दैनिक सलाखु खोला तरेर करिब एक घण्टा पैदल हिँड्छन्। त्यसपछि गाडीको पछाडि झुन्डिएर त्रिशूली किनारको कोलोनीसम्म पुग्छन्। त्यहाँबाट उर्लँदो त्रिशूली नदी तुइनमार्फत पार गरेर ढुङ्गे बजार पुग्नुपर्ने उनीहरूको बाध्यता छ।
ढुङ्गे बजारबाट माइक्रोबस चढेर आङ्गिटार पुग्ने विद्यार्थीले त्यसपछि सिहाले गाउँको करिब आधा घण्टाको उकालो पैदल यात्रा गर्नुपर्छ। बेत्रावती पुगेपछि फड्के तरेर थप करिब २० मिनेट उकालो हिँडेपछि मात्र उनीहरू विद्यालय पुग्छन्।
यसरी विद्यालय पुग्न विद्यार्थीले दैनिक खोला तर्ने, पैदल हिँड्ने, जोखिमपूर्ण रूपमा गाडीमा यात्रा गर्ने र तुइनबाट त्रिशूली पार गर्ने गरेका छन्। बाढीले निम्त्याएको अवस्थाका कारण उनीहरूको पढाइसँगै दैनिक जीवनसमेत जोखिमपूर्ण बनेको शिक्षिका थापाले बताइन्।
“विद्यार्थीले खेप्नुपरेको यो सास्ती कुनै कथाजस्तो लाग्छ, तर यो भोटेकोशी बाढीले निम्त्याएको वास्तविकता हो,” थापाले भनिन्।
शिक्षा हासिल गर्न विद्यार्थीले दैनिक रूपमा ठूलो जोखिम मोल्नुपर्ने अवस्था अन्त्य गर्न तीनै तहका सरकारले तत्काल ध्यान दिनुपर्ने उनको भनाइ छ। विद्यार्थीको सुरक्षित आवतजावतका लागि वैकल्पिक मार्ग तथा आवश्यक पूर्वाधार निर्माणमा सरकारले ठोस कदम चाल्नुपर्ने उनले बताइन्।






















प्रतिक्रिया