काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद आरएन राईले त्रिपुरेश्वरमा केही दिनअघि भएको बस आगलागीबाट पीडित अर्जुन दोङ तामाङको परिवारसँग सरकारले हालसम्म कुनै संवाद वा सम्पर्क नगरेको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद राईले पीडित परिवारले हालसम्म सरकारी सहयोग नपाएको र गुनासो लिएर विभिन्न निकाय धाउनुपरेको बताए। उनले पीडित परिवारको अवस्था तत्काल बुझेर आवश्यक सहयोग उपलब्ध गराउन गृह मन्त्रालयको ध्यानाकर्षण गराए।
त्यस्तै, राईले मुस्ताङको हिमलुङ हिमालमा असोज ११ गते गएको हिमपहिरोमा बेपत्ता भएकाहरूको खोजी कार्य प्रभावकारी हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए। खोजी कार्यमा ढिलाइ भइरहेको भन्दै उनले तत्काल प्रभावकारी रूपमा खोज तथा उद्धार अघि बढाउन माग गरे।
उक्त हिमपहिरोमा खोजीका लागि गएका खोटाङका तीन स्थानीय बेपत्ता भएको र तीमध्ये एक जनाको शव भेटिए पनि कुमार गुरुङ र सुरज राई अझै बेपत्ता रहेको उनले सदनलाई जानकारी गराए।
सांसद राईले पोल्यान्डमा कार्यरत नेपाली श्रमिकहरूले भोगिरहेको बैंकिङ समस्याबारे पनि सरकारको ध्यानाकर्षण गराए। उनका अनुसार पोल्यान्डका केही बैंकले नेपाली श्रमिकको नयाँ बैंक खाता खोल्न अस्वीकार गर्दा त्यहाँ कार्यरत नेपालीहरूलाई दैनिक आर्थिक कारोबारमा समस्या भइरहेको छ।
नेपाल ‘ग्रे लिस्ट’मा रहेको भन्दै बैंकहरूले नेपालीको खाता खोल्न अस्वीकार गर्ने गरेको र नयाँ खाता खोल्न नेपाली पासपोर्ट नम्बर प्रयोग गर्दा समेत समस्या देखिने गरेको राईले बताए। उनले परराष्ट्र मन्त्रालयसहित सम्बन्धित निकायलाई तत्काल कूटनीतिक पहल गरी पोल्यान्डमा कार्यरत नेपाली श्रमिकको समस्या समाधान गर्न आग्रह गरे।






















प्रतिक्रिया