ट्याक्टरले ठक्कर दिँदा बालकको मृ-त्यु


रौतहट । रौतहटमा ट्याक्टरको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु भएको छ। गढीमाई नगरपालिका–७ धरमपुरस्थित भित्री सडकमा बुधबार बिहान ट्याक्टरले ठक्कर दिँदा स्थानीय छोटेलाल यादवका छोरा रितिक यादवको मृत्यु भएको हो।

प्रहरीका अनुसार धरमपुरबाट पौराहीतर्फ जाँदै गरेको ना.६ त ८४९२ नम्बरको ट्याक्टरले घरअगाडि सडकमा खेलिरहेका रितिकलाई ठक्कर दिएको थियो। ठक्करबाट बालकको टाउकोमा गम्भीर चोट लागेको थियो।

गम्भीर घाइते बालकलाई तत्काल उपचारका लागि गरुडा–स्थित बेटर नेपाल अस्पताल लगिएको थियो। उपचारकै क्रममा बिहान करिब साढे १० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

घटनापछि ट्याक्टर चालक सवारीसाधन घटनास्थलमै छाडेर फरार भएका छन्। प्रहरीले फरार चालकको खोजी भइरहेको जनाएको छ।

घटनामा प्रयोग भएको ट्याक्टरका धनी स्थानीय सञ्जीव यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ट्याक्टरलाई प्रहरी चौकी धरमपुरमा राखिएको छ।

घटनाको अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक प्रमोद खड्काको नेतृत्वमा टोली घटनास्थलमा खटिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।