बस सञ्चालनलाई लिएर स्थानीय र चालकबीच विवाद


सुनसरी । धरान–८ सुन्दरबस्तीस्थित स्मार्ट बसपार्क सञ्चालनमा आएको करिब साढे दुई महिनामै बस व्यवस्थापनको विषयलाई लिएर स्थानीय बासिन्दा र बस चालकबीच तनाव भएको छ ।

बस व्यवसायीहरूले स्मार्ट बसपार्कबाट पुनः भानुचोकतर्फ बस सारेपछि स्थानीय बासिन्दाले बिहीबार बिहान विरोध जनाउँदै सडक अवरुद्ध गरेका हुन् । स्थानीयले साना–ठूला सबै प्रकारका यात्रुवाहक बस स्मार्ट बसपार्कभित्रैबाट सञ्चालन गर्नुपर्ने माग गरेका छन् ।

सडक अवरोधका क्रममा स्थानीय र बस चालकबीच सामान्य विवाद भएपछि हातहालाहालको अवस्थासमेत सिर्जना भएको थियो । घटनास्थलमा पुगेका धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्र विक्रम बेघाले स्थानीय, बस व्यवसायी तथा अन्य सरोकारवालासँग छलफल गरेका छन् ।

उनले स्थानीयको मागबारे छलफल गर्न बिहीबार दिउँसो १ बजे नगर परिसरमा वार्ताका लागि बोलाएका छन् ।

कार्यवाहक नगर प्रमुख बेघाका अनुसार पूर्वतर्फ बिर्तामोड र पश्चिमतर्फ विराटनगर जाने–आउने यात्रुवाहक बसले भानुचोकबाटै यात्रु चढाउने तथा ओराल्ने व्यवस्था हुनुपर्ने माग गर्दै व्यवसायीहरूले बस पुनः भानुचोक सारेका हुन् ।

‘व्यवसायी र बसपार्क सञ्चालकबीच कुरा नमिलेपछि समस्या आएको हो,’ बेघाले भने । उनका अनुसार स्मार्ट बसपार्क सञ्चालनमा आएपछि बसहरूलाई बसपार्कमै व्यवस्थापन गर्ने विषयमा उपमहानगरपालिका, बस व्यवसायी र स्थानीयबीच पटक–पटक छलफल हुँदै आए पनि सहमति जुट्न सकेको छैन ।

धरानको स्मार्ट बसपार्क असार १३ गते उद्घाटन गरिएको थियो भने साउन १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको थियो । सञ्चालनमा आएको छोटो समयमै बस व्यवस्थापनको विषयमा विवाद भएपछि यसको दीर्घकालीन समाधानका लागि स्थानीय तह, व्यवसायी र सरोकारवालाबीच थप छलफल आवश्यक देखिएको छ ।