डोटी । डोटीको जोरायल गाउँपालिका–१ गैरा बजारस्थित भीमदत्त राजमार्गमा कामदार बोकेको ट्र्याक्टर दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।
बिहीबार बिहान करिब ८ः४५ बजे गैरा बजारबाट मेलखर्कतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००२ त ४९१० नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट करिब १२० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
ट्र्याक्टर डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २३ वर्षीय प्रकाशबहादुर थापा मगरले चलाएका थिए।
दुर्घटनाको खबर पाएलगत्तै प्रहरी चौकी घण्टेश्वरबाट प्रहरी सहायक निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाको कमान्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो। प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पठाएको जनाएको छ।
घाइते हुनेमा जोरायल गाउँपालिका–१ का ३३ वर्षीय अमर सिजाली मगर, ४६ वर्षीय डम्बर थापा, १८ वर्षीय भरत थापा मगर, १८ वर्षीय विवश थापा मगर, ५२ वर्षीय जितबहादुर विक, ३२ वर्षीय रूपलाल विक, ३२ वर्षीया अनिषा विक, ३५ वर्षीय हर्कबहादुर थापा मगर र ३ वर्षीया करिश्मा विक रहेका छन्।
दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।






















प्रतिक्रिया