ट्रकलाई ओभरटेक गर्न खोज्दा मोटरसाइकल दुर्घटना, चालकको मृ-त्यु


चितवन । चितवनको रत्ननगर नगरपालिका–३ बेल्सीपुलस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

मंगलबार बिहान करिब १०ः३० बजे शान्तिचोकबाट तरकारीचोकतर्फ जाँदै गरेको बा.प्र.०१–००३ क ८७२५ नम्बरको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको बा.प्र.०६००८ प ३५६३ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक रत्ननगर नगरपालिका–१ का करिब २० वर्षीय ओशिक अन्सारी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज चितवन लगिएकोमा बिहान ११ः०९ बजे चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरीले ट्रक र चालक उदयपुरको रौतामाई गाउँपालिका–९ का ३८ वर्षीय इन्द्रमान परियारलाई नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।