काठमाडौँदेखि कैलालीसम्म प्रहरीको छापा, लागुऔषधसहित ३१ जना पक्राउ


काठमाडौँ । नेपाल प्रहरीले देशका विभिन्न जिल्लामा सञ्चालन गरेको नियमित गस्ती तथा कारबाहीका क्रममा लागुऔषधसहित ३१ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानबाट खैरो हेरोइन, गाँजा तथा प्रतिबन्धित औषधि बरामद गरेको हो ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ, सुनसरी, ललितपुर, उदयपुर, दाङ, नवलपरासी पूर्व, झापा, मोरङ, भक्तपुर, बाँके, कास्की र कैलालीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार काठमाडौँको तारकेश्वर नगरपालिका–८ बाट खैरो हेरोइन ३२ ग्राम ५०० मिलिग्राम र नगद ३० हजार रुपैयाँसहित आठ जनालाई पक्राउ गरिएको छ । त्यस्तै, काठमाडौँको सुन्धाराबाट थप एक जना पक्राउ परेका छन् ।

सुनसरीको कोशी गाउँपालिका–१ भन्सार टोलबाट एक जना तथा ललितपुर महानगरपालिका–२८ हरिसिद्धिस्थित तफाखल पार्कबाट एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उदयपुरको बेलका नगरपालिका–१ आम्बासीबाट पाँच किलोग्राम गाँजासहित एक जना पक्राउ परेका छन् ।

यसैगरी, दाङको तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाबाट एक जना, नवलपरासी पूर्वको देवचुली नगरपालिका–१६ टाँगिकोटबाट एक जना तथा झापाको दमक नगरपालिका–७ बाट चार जना पक्राउ परेका छन् । मोरङको कानेपोखरी गाउँपालिका–६ बरगाछी चोकबाट पनि एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीबाट ट्रामाडोल एक हजार ६१० ट्याब्लेट, नाइट्राभेट २६ ट्याब्लेट र नगद ६७ हजार ४०० रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

बाँकेको डुडुवा गाउँपालिका–१ पिपरहवाबाट १० किलोग्राम गाँजासहित स्थानीय रामनरेश कुर्मी पक्राउ परेका छन् । त्यस्तै, कास्कीको पोखरा महानगरपालिका–९ महेन्द्रपुलबाट एक जना र कैलालीको टीकापुर नगरपालिका–१ बनगाउँबाट दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेका व्यक्तिमाथि आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ । देशका विभिन्न स्थानमा लागुऔषधको ओसारपसार तथा कारोबार नियन्त्रण गर्न नियमित गस्ती र निगरानीलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ ।