गोरखाको धार्चेमा सुक्खा पहिरो


गोरखा । गोरखाको धार्चे गाउँपालिका–१, यारू पुल नजिकै बगर क्षेत्रमा भीषण सुक्खा पहिरो खसेको छ। आज बिहान करिब ९ बजे पहाडबाट ठूलो मात्रामा ढुंगा तथा माटोसहितको पहिरो खसेको हो।

पहिरो खसे पनि उक्त क्षेत्रमा सडक आवागमन बन्द रहेकाले मानवीय तथा भौतिक क्षति हुनबाट जोगिएको छ। गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रकाश शर्माका अनुसार घटनाबारे जानकारी प्राप्त हुनासाथ थप विवरण संकलन तथा अवस्थाको निरीक्षणका लागि प्रहरी टोली घटनास्थलतर्फ पठाइएको छ।

पहिरोबाट खसेका केही ढुंगा तथा माटो बूढीगण्डकी नदीमा पुगेका छन्। यद्यपि, पहिरोका कारण नदी थुनिने अवस्था नरहेको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिएका छन्।

पहिरो खसेको क्षेत्रको थप अवस्थाबारे प्रहरी टोलीले निरीक्षण गरिरहेको छ। पहाडबाट थप पहिरो खस्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै आसपासका क्षेत्रमा सतर्कता अपनाउनुपर्ने देखिएको छ।

घटनाको विस्तृत विवरण तथा पहिरोबाट सडक र आसपासको क्षेत्रमा परेको प्रभावबारे थप जानकारी आउन बाँकी छ।