प्रधानमन्त्रीको प्रतिबद्धता : सबै धर्म, संस्कृति र परम्पराको संरक्षण गर्छौँ


काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रकृति र आस्थाको महान् पर्व छठको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्। उनले नेपालको धार्मिक, सांस्कृतिक तथा सामाजिक विविधताको संरक्षण र प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

छठ पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले भगवान् सूर्यदेव र छठी माताको आराधना गरी मनाइने यस पर्वले परिवारको सुख, शान्ति, आरोग्य तथा सन्तानको दीर्घायुको कामना गर्ने परम्परा बोकेको उल्लेख गरेका छन्।

प्रधानमन्त्री शाहले छठ पर्वलाई धार्मिक आस्थासँगै प्रकृतिप्रतिको सम्मान, कृतज्ञता र जीवनदर्शनसँग जोडिएको महत्त्वपूर्ण पर्वका रूपमा व्याख्या गरेका छन्।

उनले शुभकामना सन्देशमा भनेका छन्, ‘छठले हामीलाई जीवनको एक गहिरो दर्शन सिकाउँछ, जहाँ उदाउँदो सूर्यलाई झैँ अस्ताउँदो सूर्यलाई पनि उत्तिकै श्रद्धा र सम्मानका साथ अर्घ्य दिइन्छ। यसले प्रकृतिप्रतिको कृतज्ञता र जीवनका हरेक अवस्थालाई सम्मान गर्ने प्रेरणा दिन्छ।’

छठ पर्वमा अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई समान श्रद्धाका साथ पूजा गरिने परम्पराले जीवनका सबै अवस्था र परिस्थितिलाई सम्मान गर्नुपर्ने सन्देश दिने उनको भनाइ छ।

प्रधानमन्त्रीले नेपालको बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक पहिचानलाई राष्ट्रिय सम्पत्तिका रूपमा संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्। सबै समुदायका धर्म, संस्कृति, भाषा, परम्परा र मौलिक पहिचानको सम्मान गर्दै तिनको संरक्षण तथा प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट पारेका छन्।

उनले छठ पर्वले समाजमा आपसी सद्भाव, सहिष्णुता, एकता र भाइचाराको भावना थप बलियो बनाउने विश्वाससमेत व्यक्त गरेका छन्।

त्यसैगरी छठ पर्वले सबैमा सकारात्मक ऊर्जा र नयाँ उत्साह भर्दै देशमा सुशासन, सामाजिक न्याय तथा समृद्धिको संकल्प पूरा गर्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना प्रधानमन्त्री शाहले गरेका छन्।

प्रकृति र मानव जीवनबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्ने छठ पर्वले सामाजिक एकता, पारिवारिक सद्भाव र सामूहिक सहभागिताको महत्त्वसमेत स्थापित गर्दै आएको छ। पछिल्लो समय तराई–मधेसमा विशेष रूपमा मनाइँदै आएको यो पर्व काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा व्यापक रूपमा मनाउन थालिएको छ।

प्रधानमन्त्रीको शुभकामना सन्देशले धार्मिक तथा सांस्कृतिक विविधताबीच राष्ट्रिय एकता, आपसी सम्मान र सहअस्तित्वको महत्त्वलाई पुनः उजागर गरेको छ।