होल्डिङ सेन्टर खाली गर्न दबाब दिएपछि, सरकारसँग गुहार माग्दै


काठमाडौँ । वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टर खाली गर्न दबाब दिइएपछि विस्थापित सुकुम्बासी परिवारले सरकारसँग गुहार मागेका छन् ।

भक्तपुरको बोडे, खरिपाटी र काठमाडौँको इचंगुनारायणस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका परिवारले वैकल्पिक आवासको सुनिश्चितताबिना आफूहरूलाई हटाउन खोजिएको भन्दै आपत्ति जनाएका हुन् । उनीहरूले बिहीबार भक्तपुरका प्रमुख जिल्ला अधिकारीलाई ६ बुँदे ज्ञापनपत्र बुझाउँदै होल्डिङ सेन्टर खाली गर्न जारी गरिएको सूचना फिर्ता लिन माग गरेका छन् ।

भक्तपुर प्रशासनले भूमि समस्या समाधान समितिबाट प्राप्त विवरणका आधारमा बोडेस्थित होल्डिङ सेन्टरमा रहेका १९ परिवारलाई मंसिर ११ गते दिउँसो २ बजेसम्म स्थान खाली गर्न सूचना जारी गरेको थियो । तीमध्ये सात परिवारको नाममा जग्गा देखिएको र १२ परिवारको हकमा सम्बन्धित पालिकामार्फत जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढेको प्रशासनको भनाइ छ ।

तर, विस्थापित परिवारले जग्गाको अभिलेखमा नाम देखिएकै आधारमा कसैलाई भूमिहीन नरहेको निष्कर्षमा पुग्न नहुने बताएका छन् । प्रत्येक परिवारको वास्तविक जग्गा, आवासीय तथा आर्थिक अवस्था र भूमिहीन हुनुको कारणबारे स्थलगत छानबिन गर्नुपर्ने उनीहरूको माग छ ।

ज्ञापनपत्रमार्फत उनीहरूले आफूहरूलाई सुरक्षित र सम्मानजनक आवासको व्यवस्था नगरी जबर्जस्ती हटाउन खोजिएको भन्दै निर्णय पुनरावलोकन गर्न आग्रह गरेका छन् । सरकारले १५ दिनभित्र पुनःस्थापनाको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको भए पनि सात महिना बितिसक्दा स्थायी बसोबासको टुंगो नलागेको उनीहरूको गुनासो छ ।

विस्थापित परिवारले भत्काइएका घरटहरा, नष्ट भएको सम्पत्ति र जीविकोपार्जनमा पुगेको क्षतिको निष्पक्ष मूल्यांकन गरी उचित क्षतिपूर्ति दिनुपर्ने मागसमेत गरेका छन् । सम्बन्धित जिल्ला प्रशासन, सरकारी निकाय र पीडित प्रतिनिधिबीच संवाद गरी समयसीमासहितको पुनःस्थापना कार्ययोजना बनाउन पनि उनीहरूले आग्रह गरेका छन् ।

थापाथली, मनोहरा र सिनामंगललगायतका नदी किनारका बस्तीमा गत वैशाख १२ गते डोजर चलाइएपछि विस्थापित भएका परिवार अहिले विभिन्न होल्डिङ सेन्टरमा बस्दै आएका छन् । हाल बोडे, खरिपाटी र इचंगुनारायणका होल्डिङ सेन्टरमा ९६ परिवार आश्रित रहेको जनाइएको छ ।