Logo

भारतमा कोरोना संक्रमितको संख्या २८ पुग्यो, इराकमा १ को मृत्यु ! सेयर गरौ

भारतमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या २८ पुगेको छ । यसअघि ६ जनामा मात्रै देखिएको कोभिड-१९ बुधबार थप २२ जनामा भेटिएको भारतका स्वास्थ्यमन्त्री हर्षवर्द्धनले बताएका छन् । यीमध्ये केरला राज्यका ३ जना संक्रमित निको भएर घर फर्किसकेको उनले बताए ।

भेटिएका नयाँ संक्रमितमध्ये १६ जना राजस्थानको जयपुरमा भेटिएका हुन्। ती मध्ये १५ जना इटालियन र एक भारतीय रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। उक्त समूह भारतमा छुट्टी मनाउन आएको र संक्रमित ती भारतीय बसका ड्राइभर रहेको स्वास्थ्यमन्त्री वर्द्धनले बताए।

अन्य ६ जना नयाँ दिल्लीको एकै परिवारमा भेटिएको हो। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाको आशंकामा ६६ जनाको स्वास्थ्य परीक्षण गराइएको छ। उनीहरु सबैलाई नयाँ दिल्लीस्थित सफदरजङ अस्पतालको आइसोलेसनमा राखिएको छ।

यसैबीच,इराकमा कोभिड-१९को संक्रमणबाट एक जनाको मृत्यु भएको छ। इरानी स्वास्थ्य मन्त्रालयका अनुसार ६३ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको हो। इराकमा ३२ जनामा कोभिड-१९ को संक्रमण देखिएको छ। इराकको राजधानी बगदादमा रहेका सबै विद्यालय र विश्‍वविद्यालयहरु १० दिनका लागि बन्द गरिएको छ।

वुहानबाट सुरु भएको कोभिड–१९ का कारण बुधबार दिउँसोसम्म ३ हजार २ सय ४ जनाको मृत्यु भएको छ भने ९३ हजारभन्दा बढीमा संक्रमण देखिएको छ। बुधबारसम्म चीनमा मात्रै २ हजार ९ सय ८१ जनाको मृत्यु भएको छ भने ८० हजार २ सय ८२ जनामा संक्रमण देखिएको छ।

चीनबाहिर सबैभन्दा बढी इटालीमा ७९ जनाको मृत्यु भएको छ। इटालीमा २ हजार ५ सय २ जनामा संक्रमण देखिएको छ। त्यस्तै इरानमा ७७ जनाको मृत्यु भएको छ भने २ हजार ३ सय ३६ जनाको संक्रमण देखिएको छ।

त्यस्तै दक्षिण कोरियामा ५ हजार ६ सय २१ जनामा संक्रमण देखिएको छ भने ३३ जनाको मृत्यु भएको छ।त्यस्तै बुधबार दिउँसोसम्म अमेरिकामा ९, जापानमा १२, फ्रान्समा ४, हङकङमा २ तथा स्पेन, थाइल्यान्ड, अस्ट्रेलिया, ताइवान, इराक, सान मारिनो तथा फिलिपिन्समा एक–एक जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्