राष्ट्रिय भेला उद्घाटन गर्न अध्यक्ष ओली कार्की बैंक्वेटमा


काठमाडौँ । नेकपा एमालेको राष्ट्रिय भेला आज काठमाडौँको थापाथलीस्थित कार्की बेङ्क्वेटमा सुरु हुँदैछ। भेलाको उद्घाटनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली कार्यक्रमस्थल पुगिसकेका छन्।

देशभरबाट ३ हजार ४१४ प्रतिनिधि सहभागी हुने भेलामा पार्टीका केन्द्रीय सदस्य, प्रदेश तथा जिल्ला पदाधिकारी, पालिका कमिटीका अध्यक्ष–उपाध्यक्ष, सांसद र स्थानीय तहका जनप्रतिनिधिहरू सहभागी हुँदैछन्।

भेलामा अध्यक्ष ओलीसहित पूर्वराष्ट्रपति तथा वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षद्वय रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम छ।

भेलामा पार्टीको आगामी राजनीतिक कार्यदिशा, स्थानीय तहको निर्वाचनको तयारी तथा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने एमालेले जनाएको छ। जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिबारे पनि भेलामा समीक्षा गरिनेछ।

एमालेले पार्टीको राजनीतिक लाइनमा एकरूपता कायम गर्न र आगामी निर्वाचनको तयारीलाई व्यवस्थित बनाउन राष्ट्रिय भेला आयोजना गरेको हो।